गाजामा एक हप्तामा चार सय प्यालेस्टिनी मारिए, सयौँ घाइते :राष्ट्रसङ्घ

एजेन्सी ।गाजामा एक हप्तामा करिब चार सय प्यालेस्टिनी मृत्यु हुनुका साथै करिब एक हजार पाँच सय घाइते भएको मानवीय मामिला तथा आपत्कालीन राहतका लागि राष्ट्रसङ्घका कार्यवाहक उपमहासचिव जोयस सुयाले बताउनुभएको छ ।

गाजाको मानवीय अवस्थाबारे राष्ट्रसङ्घीय सुरक्षा परिषद्लाई जानकारी दिँदै सुयाले अक्टोबर ९ पछि इजरायली हवाई आक्रमणका कारण गाजामा सयौँ व्यक्ति हत्या भएको बताउनुभएको छ ।

अल अक्सा अस्पताल नजिकै शरण लिइरहेका बिरामी र विस्थापितहरूको तस्बिरले विश्वलाई विचलित बनाएको जनाउँदै महिला तथा बालबालिकासहित धेरै व्यक्तिहरूले कठिन जीवनको सामना गरिरहेको उहाँले उल्लेख गर्नुभएको छ ।

यदि यस्तो आतङ्कले मानवताको भावना हराउने र मानवतावादीहरूलाई काम गर्न उत्प्रेरित नगर्ने बताउँदै उहाँले इजरायलको सैन्य आक्रमण तीव्र हुँदै गएकाले ५५ हजार भन्दा बढी मानिसहरू जबलिया क्षेत्रबाट विस्थापित भएको ,अक्टोबरको सुरुदेखि १५ सम्म गाजामा कुनै पनि खाद्य सहायता नआएको बताउँदै बाँच्नका लागि सबै आवश्यक सामग्रीहरू समाप्त भइरहेको जनाउनुभएको छ । गाजाको दयनीय अवस्था र पीडालाई ध्यानमा राख्दै, मानवीय पहुँच अस्तित्वहीन भएको उहाँले बताउनुभएको छ ।

बैठकका लागि अनुरोध गर्ने अल्जेरियाका प्रतिनिधिले गाजाको विनाशकारी मानवीय अवस्थाबारे चिन्ता व्यक्त गर्नुभएको छ। मङ्गलबार गाजामा सहायताका ट्रकहरू आएको भए पनि घेराबन्दीका कारण जबालिया पुग्न असफल भएको उल्लेख गर्दै उहाँले मानवीय सहायताका सामग्रीको अभाव सिर्जना गर्ने सैन्य घेराबन्दी अस्वीकार्य मात्र नभई युद्ध अपराध भएको बताउनुभएको छ ।

राष्ट्रसङ्घमा प्यालेस्टाइनका लागि स्थायी पर्यवेक्षक रियाद मन्सुरले गाजामा भइरहेको आक्रमणको विकल्प मौनता र निष्क्रियता नभएको उल्लेख गर्नुभएको छ ।

लेबनानी  र प्यालेस्टिनी जनताले इजरायलको दण्डहीनताको मूल्य चुकाउन बाध्य भएको उल्लेख गर्दै गाजामा घेराबन्दी, भोकमरी र बम विस्फोटमा परेका चार लाख प्यालेस्टिनीलाई अधीनमा राखिनु युद्ध नभई अपराध भएकाले यसलाई रोक्नुपर्ने उहाँले बताउनुभएको छ ।

यसै सन्दर्भमा टिप्पणी गर्दै इजरायलका प्रतिनिधिले आफ्नो देशविरुद्धको आक्रमणको विस्तृत विवरण दिँदै १०१ जना मानिसलाई हमासले यातना दिएको र सुरक्षा परिषद्का सदस्यहरूले बन्धकको बारेमा थोरै मात्र उल्लेख गरेको बताउनुभएको छ ।

इजरायल र मानवीय साझेदारले गाजामा भरपुर मानवीय सहायता ल्याउँदा पनि हमासले सहायता ‘कब्जा’ गरी मानवीय अवस्थालाई दयनीय बनाएको उल्लेख गर्नुभएको छ ।