चालू आर्थिक वर्षको दुई महिनामा २ खर्ब ६३ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो

काठमाण्डौ । चालू आर्थिक वर्षको दुई महिनामा दुई खर्ब ६३ अर्ब रुपैयाँभन्दा धेरै रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ अनुसार चालू आर्थिक वर्षको पहिलो दुई महिना साउन र भदौमा दुई खर्ब ६३ अर्ब १४ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको हो ।

राष्ट्र बैंकका अनुसार भदौमा एक खर्ब २६ अर्ब २१ करोड र साउनमा एक खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । गएको वर्षको यही अवधिको तुलनामा यस वर्ष रेमिट्यान्स आप्रवाह १५ दशमलव २ प्रतिशतले बढेको हो । गएको वर्षको पहिलो दुई महिनामा रेमिट्यान्स आप्रवाह १८ दशमलव ७ प्रतिशतले बढेको थियो ।

राष्ट्र बैंकका अनुसार भदौसम्म अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १ अर्ब ९६ करोड पुगेको छ । गएको वर्ष यस्तो आप्रवाह १ अर्ब ७३ करोड रहेको थियो ।

यस्तै दुई महिनामा वैदेशिक रोजगारीका लागि ७६ हजार चार सय ८५ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् भने पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ४० हजार पाँच सय ८३ जना रहेको छ । अघिल्लो वर्षको यही अवधिमा अन्तिम श्रम स्वीकृति लिनेको सङ्ख्या ७४ हजार चार सय ५५ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ३२ हजार चार जना रहेको थियो ।

यस्तै विदेशी मुद्रा सञ्चिति २१ खर्ब ५२ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । गएको असार समान्तसम्म २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको विदेशी मुद्रा सञ्चिति दुई महिनामा एक खर्ब रुपैयाँभन्दा धेरैले बढेको हो । अमेरिकी डलरमा विदेशी मुद्रा सञ्चिति १६ अर्ब चार करोड पुगेको छ । असार समान्तसम्म विदेशी मुद्रा सञ्चिति १५ अर्ब २७ करोड थियो ।

यस्तै वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ३ दशमलव ८५ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । आयात १ दशमलव १ प्रतिशतले बढेको छ भने निर्यात ५ दशमलव १ प्रतिशतले घटेको छ ।