साफ महिला च्याम्पियनशिपका लागि बङ्गलादेशको टोली नेपाल आइपुग्यो

काठमाण्डौ ।साफ महिला च्याम्पियनशिप फुटबलका लागि बङ्गलादेशको टोली नेपाल आइपुगेको छ । बङ्गलादेशको टोली आज दिउँसो काठमाण्डौ आइपुगेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।

साफ महिला च्याम्पियनशिप खेल्न अइपुग्ने बङ्गलादेश तेस्रो टोली थियो । हिजो माल्दिभ्सको टोली र अस्ति आइतवार पाकिस्तानको टोली काठमाण्डौ आइपुगेको हो । भारत र श्रीलङ्काको टोली आजै र भुटानको टोली भोलि आइपुग्ने एन्फाले जनाएको छ ।

त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हुने महिला साफ च्याम्पियनशिपमा आयोजक नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, भारत, भुटान र बङ्गलादेश गरी सात वटा देशले प्रतिस्पर्धा गर्नेछन् । सात वटा टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल रहेको समूह ‘बी’ मा श्रीलङ्का, माल्दिभ्स र भुटान पनि छन् । यस्तै समूह ‘ए’ मा भारत, पाकिस्तान र बङ्गलादेश छन् ।

प्रतियोगिताको उद्घाटन खेलमा कात्तिक १ गते भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।आयोजक नेपालले भने कातिक २ गते भुटानसँग खेल्दै प्रतियोगिताको शुरुआत गर्ने छ ।नेपालमा तेस्रो पटक आयोजना हुन लागेको प्रतियोगिता कात्तिक १४ गतेसम्म चल्ने छ ।

नेपाल अहिलेसम्म पाँच पटक साफ महिला च्याम्पियनशिपको फाइनलमा पुगे पनि उपाधि जित्न सकेको छैन । महिला साफ च्याम्पियनशिपको सबैभन्दा सफल टोली भारतले पाँच पटक उपाधि जितेको छ । यस्तै बङ्गलादेशले एक पटक उपाधि जितेको छ ।