महिला टी–२० विश्वकप क्रिकेटमा आज इङ्ल्यान्ड र स्कटल्यान्ड तथा अस्ट्रेलिया र भारत खेल्दै

काठमाण्डौ । आईसीसी महिला टी–२० विश्वकप क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । आजको पहिलो खेलमा इङ्ल्यान्ड र स्कटल्यान्ड तथा दोस्रो खेलमा अस्ट्रेलिया र भारतबीच खेल हुनेछ ।

समूह ‘बी’ का इङ्ल्यान्ड र स्कटल्यान्डको खेल शारजाहमा नेपाली समयअनुसार दिउँसो पानै ४ बजे शुरु हुनेछ । इङ्ल्यान्डले पहिलो खेलमा बङ्गलादशेलाई २१ रनले र दोश्रो खेलमा दक्षिण अफ्रिकालाई सात विकेटले हराएको थियो । स्कटल्यान्ड पहिलो खेलमा बङ्गलादेशसँग १६ रन, वेस्ट इन्डिजसँग छ विकेट र दक्षिण अफ्रिकासँग ८० रनले पराजित भएको थियो ।

समूह ‘ए’ का अस्ट्रेलिया र भारतको खेल नेपाली समयअनुसार राति पौने ८ बजे शारजाहमा हुनेछ । अस्ट्रेलियाले पहिलो खेलमा श्रीलङ्गालाई छ विकेट, न्युजिल्यान्डलाई ६० रन र पाकिस्तानलाई नाै विकेटले हराएको थियो । भारत पहिलो खेलमा न्युजिल्यान्डसँग ५८ रनले पराजित हुँदा पाकिस्तानलाई छ विकेटले र श्रीलङ्कालाई ८२ रनले पराजित गरेको थियो ।

आईसीसी महिला टी–२० विश्वकप क्रिकेटमा गएराति भएका खेलमा न्युजिल्यान्डले श्रीलङ्कालाई आठ विकेटले र दक्षिण अफ्रिकाले बङ्गलादेशलाई सात विकेटले हराएको थियो ।

प्रतियोगिताको समूह ‘ए’ मा अस्ट्रेलिया, भारत, पाकिस्तान, श्रीलङ्का र न्युजिल्यान्ड छन् । समूह ‘बी’ मा दक्षिण अफ्रिका, वेस्ट इन्डिज, बङ्गलादेश, स्कटल्यान्ड र इङ्ग्ल्यान्ड छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।