काभा २० वर्षमुनिको पुरुष भलिबल च्याम्पियनशिप उपाधिका लागि नेपाल र उज्बेकिस्तान खेल्दै

काठमाण्डौ । काभा २० वर्षमुनिको पुरुष भलिबल च्याम्पियनशिपको उपाधिको लागि आज नेपाल र उज्बेकिस्तान खेल्दैछन् । श्रीलङ्कामा भइरहेको प्रतियोगितामा नेपाल र उज्बेकिस्तानको फाइनल खेल नेपाली समयअनुसार आज दिउँसो सवा ३ बजे शुरु हुँदैछ ।

हिजोको खेलमा नेपालले तुर्कमेनिस्तानलाई ३–० को सोझो सेटमा हराएको थियो । तुर्कमेनिस्तानसँग समान अङ्क भए पनि सेटको जीतका आधारमा नेपाल फाइनलमा पुगेको हो । उज्वेकिस्तान समूह चरणका सबै पाँच खेल जितेर शीर्ष स्थानमा रहँदै फाइनलमा पुग्यो ।

नेपाल प्रतियोगिताको लिग चरणमा उज्वेकिस्तान र किर्गिस्तानसँग पराजित भएको थियो भने माल्दिभ्स, श्रीलङ्का र तुर्कमेनिस्तानलाई हराएको हो । प्रतियोगितामा नेपालसहित आयोजक श्रीलङ्का, माल्दिभ्स, किर्गिस्तान, उज्वेकिस्तान र तुर्कमेनिस्तान गरी छ वटा क्षेत्रीय टोलीले प्रतिस्पर्धा गरेका हुन् ।