राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्ट व्यक्तिबाट विजयादशमीको शुभकामना

काठमाण्डौ – राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्ट व्यक्तिले विजयादशमीको शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुभकामना सन्देशमार्फत देशमा स्थायित्व, सुशासन र समृृद्धिको कामना गर्नुभएको छ ।

यस्तै उपराष्ट्रपति रामसहाय प्रसाद यादवले राष्ट्रिय एकता, अखण्डता, सार्वभौमिकता र राष्ट्रियतालाई बलियो बनाउँदै देशलाई समृद्धितर्फ उन्मुख गराउन विजयादशमीले सम्पूर्ण नेपालीलाई उत्प्रेरित गर्न सकोस् भनी कामना गर्नुभएको छ ।

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक विपद्ले दिएको पीडाकाबीच आपसी सहयोग र सद्भावका साथ विजयादशमी मनाउन आग्रह गर्नुभएको छ । उहाँले भिडियो सन्देशमार्फत देशभित्र तथा विदेशमा रहेका सबै नेपालीलाई शुभकामना व्यक्त गर्दै विपद्अघिको अवस्थामा समाजलाई फर्काउन सरकारसँग ‘होस्टेमा हैसे’ मिलाउन आह्वान समेत गर्नुभयो ।

‘जो जहाँ छौ, पीडामा परेकाहरुको पिडा हराउनका लागि सहयोगी हातहरु बढाउन आग्रह गर्छु’, उहाँले भन्नुभएको छ । सरकार राहत र पुनःस्थापनामा केन्द्रित रहेको भन्दै उहाँले क्षतिको मूल्याङ्कन गरेर क्षतिपूर्ति उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

विजयादशमीको अवसरमा अन्य दलका शीर्ष नेता तथा विशिष्ट व्यक्तिहरुले पनि शुभकामना व्यक्त गर्नुभएको छ । उहाँहरुले शुभकामनामार्फत् सुशासन र सामाजिक न्यायको प्रत्याभूतिसहित समृद्धिको दिशामा देशलाई अघि बढाउन एवम् नागरिकको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सहयोग पुग्ने उल्लेख गर्नुभएको छ ।