बीपी राजमार्गको यात्रा अनिश्चित, जोखिम भएकाले सकभर गाडी नचलाउन प्रहरीको अनुरोध

काठमाण्डौ।  १४ दिनपछि आज बिहान खुलेको बीपी राजमार्ग खुल्ने र बन्द हुने भइरहेको छ । काभ्रेको पिप्ले खण्डमा निरन्तर सुक्खा पहिरो खसिरहेकाले सडक खुलाउन समस्या भइरहेको प्रहरीले जनाएको छ । बिहान केहीबेर खुलेको सडक ठूलो पहिरो आएपछि फेरि बन्द भएको थियो ।

दिउँसो केहीबेर सडक एकतर्फी खुलाएर रोकिएका गाडी पार गराए पनि सुक्खा पहिरो झर्ने क्रम नरोकिएकाले अहिले सडक बन्द भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक बसुन्धरा खड्काले जानकारी दिनु भयो ।

सडक माथिबाट सुक्खा पहिरो झरीरहेकाले यो सडकबाट जोखिमपूर्ण यात्रा नगर्न पनि प्रहरीले सबैमा अनुरोध गरेको छ । पहिरोले पुरेको एउटा जीप र बस निकालिएको छ । बस निकाल्न गएको एस्काभेटर पनि पहिरोमा पुरिएको थियो । पहिरोले गाडीमा क्षति पुगे पनि मानविय क्षति भने हुन पाएको थिएन ।

गएको असोज १०, ११ र १२ गतेको अविरल वर्षापछि आएको बाढीपहिरोले काठमाण्डौ उपत्यकालाई पूर्वी नेपालसँग जोड्ने मुख्य मार्गका रूपमा रहेको बीपी राजमार्ग अवरुद्ध भएको थियो ।