प्रहरी महानिरीक्षकद्वारा मौलो पूजा

काठमाडौ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले बडादसैँका अवसरमा नक्सालस्थित सशस्त्र प्रहरी गणमा मौलो पूजा गर्नुभएको छ । नेपाल प्रहरीले हरेक वर्ष मौलो पूजा गर्दै आएको छ । त्यस अवसरमा उहाँले मौलो पूजाका निम्ति विशेष कार्य गरेबापत प्रहरी नायब निरीक्षक भवानी चन्दलाई पगरी तथा नगद पुरस्कार र प्रहरी हवल्दार जितेन्द्र थारुलाई नगद पुरस्कार प्रदान गर्नुभयो ।

पूजामा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतलगायत प्रहरी अधिकृतहरूको उपस्थिति थियो । पूजापछि मूलकोत हनुमानढोकाको लागि निशान प्रस्थान गराइएको थियो । नेपाल प्रहरीको निशान नेपाली सेनाको रामदल पल्टनबाट आएको हो ।

नेपाल प्रहरीले २०११ सालमा निशान झण्डा प्राप्त गरेपश्चात हरेक वर्ष बडादसैँ र चैते दसैँमा निरन्तर रूपमा मौलो पूजा गर्दै आएको छ । साथै देशभरका विभिन्न प्रहरी कार्यालयमा रहेका मौलोमा पूजा गर्ने परम्पराअनुरूप आज सम्पूर्ण प्रहरी एकाइमा पनि मौलो पूजा गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।