वर्षमा एक दिन खुल्ने हनुमानढोका दरबार क्षेत्रको तलेजु भवानीको मन्दिर आज बिहानैदेखि खुला

काठमाण्डौ ।  वर्षमा एक दिन खुल्ने काठमाण्डौको हनुमानढोका दरबार क्षेत्रको तलेजु भवानीको मन्दिर आज बिहानैदेखि खुला भएको छ । वर्षमा एकपटक अर्थात् आज महानवमीका दिन मात्र तलेजु भवानीको मन्दिर खुल्ने गर्छ । आज बिहान ४ बजेदेखि नै तलेजुका मन्दिरहरु सर्वसाधारणका लागि खुला गरिएको हो ।

काठमाण्डौ, ललितपुर र भक्तपुरका तलेजु मन्दिर आजकै दिन खुला गरिन्छ । आजका दिन तलेजुको दर्शन गर्न सर्वसाधारणको भीड लाग्ने गर्छ । तलेजु भवानीलाई भने फूलपातीकै दिन हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको छ । तलेजु भवानीलाई विजयादशमीका दिन बिहानमात्र मूल मन्दिरमा फर्काइनेछ ।

दशैँको मुख्य दिन भोलि विजयादशमी पर्व मनाइन्छ । आज कुमारीलाई तलेजु भवानीको दर्शन गर्न लैजाने परम्परा पनि छ । आज नेवार समुदायले घरघरमा कुमारी बालिकालाई मयूर आसनमा राखेर कुमारी पुजा गर्छन् ।