बाढीपहिरोबाट झन्डै ११ हजार परिवार विस्थापित, ४६ अर्ब रुपैयाँ बराबरको क्षति : गृह मन्त्रालय

काठमाण्डौ । गएको असोज १०, ११ र १२ को बाढीपहिरो र डुबानबाट झन्डै ११ हजार परिवार विस्थापित भएका छन् । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको क्षतिको प्रारम्भिक प्रतिवेदन अनुसार १० हजार आठ सय सात परिवार विस्थापित भएको अनुमान गरिएको छ ।

गृह मन्त्रालयमा हिजो बुझाइएको प्रतिवेदनअनुसार बाढीपहिरोमा चार हजार छ सय ६७ घर पूर्ण रूपमा र पाँच हजार तीन सय १० घरमा आंशिक क्षति पुगेको उल्लेख छ । गृह मन्त्रालयका सहसचिव डा. भीष्मकुमार भुसालका अनुसार पछिल्लो मनसुनजन्य विपद्बाट ४६ अर्ब रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक आँकलन छ । बाढीरपहिरोबाट सहरी विकास मन्त्रालयअन्तर्गतका आयोजनामा मात्रै दुई अर्ब ८८ करोड ३४ लाख रुपैयाँबराबरको क्षति पुगेको छ ।

यसैबीच सरकारले विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएका ७१ वटा पालिकाको सूची सार्वजनिक गरेको छ । गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै १२ जिल्लाका ७१ पालिकालाई अबको तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको जानकारी गराएको हो ।

सबैभन्दा धेरै क्षति भएको काभ्रेका ११ सहित रामेछापका आठ, सिन्धुपाल्चोक, धादिङ र रौतहटका पाँचरपाँच, ललितपुर र सिन्धुलीका चाररचार, मकवानपुर, दोलखा, चितवन, ओखलढुङ्गा, पाँचथर, सोलुखुम्बु र खोटाङका तीनरतीन, महोत्तरी र सर्लाहीका दुईरदुई, सिरहा, सप्तरी, इलाम र उदयपुरका एकरएक वटा पालिकालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको हो ।