शेयर बजार सामान्य बढ्यो

काठमाण्डौ । हिजो दोहोरो अङ्कले घटेको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज चार दशमलव ८५ अङ्कले बढेर दुई हजार ६ सय ६८ दशमलव १७ विन्दुमा पुगेको छ ।

आज विकास बैंक, लगानी, जीवन बीमा र व्यावार बाहेक सबै समूहको शेयर बढेकोमा उत्पादन समूहको शेयर उच्च अङ्कले बढेको छ । आज मिड सोलु हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन थ्री स्टार हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।

आज बजारसँगै कारोबार रकम पनि घटेको छ । हिजो चार अर्ब ५९ करोडभन्दा धेरैको कारोबार भएकोमा आज दुई सय ९४ वटा कम्पनीका ८३ लाख १२ हजार कित्ता शेयर तीन अर्ब ७६ करोड रुपैयाँमा कारोबार भएका छन् । आज सबैभन्दा धेरै नेपाल फाइनान्स कम्पनीको २२ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।