लेबनानको अवस्था गाजाको जस्तै बन्न सक्ने इजरायली प्रधानमन्त्री नेतान्याहुको चेतावनी

एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले लेबनानको अवस्था गाजाको जस्तै बन्न सक्ने चेतावनी दिनुभएको छ ।

इजरायली प्रधानमन्त्री नेतान्याहुले हिजबुल्लाहलाई बाहिर निकाल्न लेबनानी नागरिकलाई आग्रह गर्दै गाजाको जस्तो अवस्था बन्नबाट बच्न अपील गर्नुभएको बीबीसीले जनाएको छ । इजरायलले दक्षिण–पश्चिम लेबनानको नयाँ क्षेत्रमा हजारौं सेना पठाएर हिजबुल्लाहविरुद्ध भूमिगत आक्रमण विस्तार गरेपछि नेतान्याहुले यस्तो अपील गर्नुभएको हो ।

लेबनानका नागरिकलाई निर्देशित गरिएको भिडियो सम्बोधनमा नेतान्याहुले गाजाको जस्तो अवस्था बन्नुअघि लेबनानलाई बचाउने मौका लेबनानीसँग रहेको बताउनुभएको खबरमा उल्लेख छ । लेबनानलाई हिजबुल्लाहबाट मुक्त गरे अहिले चलिरहेको यद्ध रोकिनसक्ने इजरायली प्रधानमन्त्री नेतान्याहुको भनाइ छ ।

लेबनानको स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा इजरायली आक्रमणमा ३६ जनाको ज्यान गएको र एक सय ५० जना घाइते भएको बताएको छ । यसैबीच हिजबुल्लाहले इजरायली बन्दरगाह हाइफातर्फ लगातार तेस्रो दिन रकेटको ब्यारेज प्रहार गर्दा १२ जना घाइते भएका छन् ।

इजरायल र इरान समर्थित विद्रोही समूह हिजबुल्लाहले एकअर्काविरुद्ध आक्रमण तीव्र पारेका छन् । इजरायली आक्रमणका कारण लेबनानमा दुई हजार एक सय जनाभन्दा धेरैको ज्यान गएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।