नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाण्डौ ।हिजो र अस्ति बढेको शेयर बजार आज भने घटेको छ । आज शेयर बजार परिसूचक नेप्से २७ दशमलव ३९ अङ्कले घटेर दुई हजार ६ सय ६३ दशमलव ३२ विन्दुमा झरेको छ ।

आज म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेकोमा फाइनान्स, होटल, बीमा, उत्पादन, विकास बैंक समूहको शेयर उच्च अङ्कले घटेको छ ।

आज इस्टर्न हाइड्रोपावर कम्पनीको शेयर साढे आठ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन मिड सोलु हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ६ अर्बभन्दा धेरैको कारोबार भएकोमा आज तीन सय वटा कम्पनीका एक करोड तीन लाख कित्ता शेयर चार अर्ब ५९ करोड रुपैयाँमा कारोबार भएका छन् । आज सबैभन्दा धेरै एनएलजी इन्सुरेन्स कम्पनीको २७ करोड रुपैयाँभन्दा धेरैको शेयर किनबेच भयो ।