सप्तकोशीमा “जेटबोट” पुनः सञ्चालनमा

काठमाण्डौ । सुनसरीको चतरामा सप्तकोशी नदीमा जेटबोट पुनः सञ्चालनमा आएको छ । नदीमा जलसतह र बहाव घट्दै गएपछि आजदेखि जेटबोट पुनः सञ्चालन शुरू गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बताउनुभयो ।

केही समय अगाडि वर्षाका कारण जलसतह उच्च भएसँगै असुरक्षा हुने भएकाले सेवा बन्द भएको थियो । चाडबाडको समयमा यात्रुहरू आवतजावत सहज बनाउने उद्देश्यले तत्कालका लागि सेवा शुरू गरिएको प्रमुख जिल्ला अधिकारी तिवारीको भनाइ छ ।

अहिले सुनसरीको चतराबाट बराहक्षेत्र हुँदै भोजपुरको सीमाना हतुवागढीसम्म जेटबोट सञ्चालन हुँदै आएको छ । जेटबोट सञ्चालन भएसँगै भोजपुरलगायत क्षेत्रका सर्वसाधारणलाई आउजाउ गर्न हुनेछ ।

आज बिहान सुनसरीको चतरामा रहेको सप्तकोशी नदीमा पुगेर प्रमुख जिल्ला अधिकारी तिवारीसँगै सुनसरीका प्रहरी उपरीक्षक सुमन तिमल्सिना, राष्ट्रिय अनुसन्धान विभाग सुनसरीका उप अनुसन्धान निर्देशक तुल्सी कट्टेललगायतले निरीक्षण गर्नुभएको थियो ।