काठमाण्डौ उपत्यकामा गाडीको चाप घट्यो, मुख्य चोकहरूमा सामान्य अवस्था

काठमाण्डौ । आज काठमाण्डौ उपत्यकामा कम गाडी चलेका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । दशैँका लागि काठमाण्डौबाट यात्रुहरू गाउँघर जाने क्रम बढेकाले काठमाण्डौ उपत्यकामा आज गाडी कम चलेका हुन् ।

अरू बेला गाडीको निकै चाप हुने काठमाण्डौका मुख्य चोकहरूमा आज भने आलोपालो गरेर सामान्य अवस्थामा नै गाडी चलिरहेका ट्राफिक प्रहरीले जनाएको छ ।

देशका मुख्य राजमार्गमा पनि आज कुनै अवरोध छैन । बाढी पहिरोले बीपी र कान्ति लोकपथ बन्द रहेको छ । अरू राजमार्गमा कतै पनि अवरोध नरहेको ट्राफिक प्रहरीले जनाएको छ । सडक भासिएर कहिले एकतर्फी र कहिले बन्द हुँदै आएको पूर्व-पश्चिम राजमार्गको दाउन्ने खण्डमा पनि आज दुईतर्फी नै गाडी चलिरहेका छन् ।