काभा यू-२० पुरुष भलिबल : नेपाल र उज्वेकिस्तानको खेल आज

काठमाण्डौ ।काभा २० वर्षमुनिको पुरुष भलिबल च्याम्पियनशिपमा नेपालले आज उज्वेकिस्तानसँग खेल्दैछ । श्रीलङ्कामा हिजोदेखि शुरू भएको प्रतियोगितामा नेपाल र उज्वेकिस्तानको खेल नेपाली समयअनुसार आज दिउँसो सवा ४ बजे शुरू हुनेछ ।

कोलम्बोको सुगाथादासा रङ्गशालामा आजै किर्गिस्तान र तुर्कमेनिस्तान तथा श्रीलङ्का र माल्दिभ्स पनि खेल्दैछन् । यसअघि हिजोको उद्घाटन खेलमा नेपालले विजयी शुरुआत गरेको थियो । नेपालले घरेलु टोली श्रीलङ्कालाई ३-० को सोझो सेटमा हराएको हो ।

आउँदो शनिवारसम्म चल्ने प्रतियोगितामा नेपालसहित आयोजक श्रीलङ्का, माल्दिभ्स, किर्गिस्तान, उज्वेकिस्तान र तुर्कमेनिस्तान गरी ६ वटा क्षेत्रीय टोलीले प्रतिस्पर्धा गर्नेछन् । नेपालले तेस्रो खेलमा भोलि असोज २२ गते माल्दिभ्ससँग र चौथो खेलमा असोज २४ गते किर्गिस्तानसँग खेल्नेछ ।

नेपालले पाँचौं खेलमा असोज २५ गते तुर्किमिनिस्तानसँग खेल्ने तालिका छ । प्रतियोगिताको शीर्ष दुईमा रहने टोलीबीच असोज २६ गते फाइनल हुनेछ ।