नेपाल नेत्रज्योति सङ्घले बालबालिकाको निःशुल्क आँखा परीक्षण गर्ने

काठमाण्डौ – नेपाल नेत्रज्योति सङ्घले विश्व दृष्टि दिवसका अवसरमा बालबालिकाको निःशुल्क आँखा परीक्षण गर्ने भएको छ ।

सङ्घअन्तर्गत देशभर सञ्चालित आँखा अस्पताल तथा उपचार केन्द्रमा असोज २४ गते अक्टोबर १० मा परेको विश्वदृष्टि दिवसका अवसरमा अघिल्लो दिन पर्सि बुधवार बालबालिकाको निःशुल्क आँखा परीक्षण गर्न लागिएको हो ।

सङ्घका कार्यकारी निर्देशक डा.शैलेशकुमार मिश्रका अनुसार यो वर्षको विश्व दृष्टि दिवसमा विश्व स्वास्थ्य सङ्गठन र ‘इन्टरनेशल ऐजेन्सी फर द प्रिभेन्सन अफ ब्लाइन्डनेस’ (आइएपिबी)ले बाल आँखा स्वास्थ्यलाई प्राथमिकता दिएकाले नेपाल नेत्रज्योति सङ्घले पनि बालबालिकाको निःशुल्क आँखा परीक्षण गर्ने भएको हो ।

सङ्घका महासचिव भरतबहादुर चन्दका अनुसार सङ्घद्वारा देशभर सञ्चालित २८ वटा आँखा अस्पताल तथा एक सय ६० आँखा उपचार केन्द्रहरुबाट पर्सि बुधवार १५ बर्षभन्दा कम उमेरका बालबालिकाको निःशुल्क आँखा परीक्षण गरिने छ ।

नेपालमा झण्डै ११ लाख बालबालिकामा विभिन्न किसिमका दृष्टिदोषको समस्या रहेको अनुमान छ । जसमध्ये सात लाख बालबालिकाहरु अझै दृष्टिदोषको उपचारबाट वञ्चित छन् । दृष्टिदोषको समस्या भएका बालबालिकाले आँखा परीक्षण गरी चस्मा लगाउँदा उनीहरुको कक्षा उत्तीर्ण दरमा ४४ प्रतिशतसम्मले वृद्धि हुने विभिन्न अध्ययनले देखाएको छ ।

यो बर्ष ‘बालबालिको आँखालाई विशेष ख्याल गरौँ’ भन्ने नाराका साथ अक्टोबर १० तारिख (असोज २४ गते) नेपालमा पनि विभिन्न कार्यक्रम गरि विश्व दृष्टि दिवस मनाइँदै छ ।