आज पनि कुष्माण्डा देवीको पूजा, आराधना गरिँदै

काठमाण्डौ ।  नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज पनि असोज शुक्ल चौथी तिथि वृद्धि भएकाले नवरात्रमा गरिने दुर्गा पूजाको विधिअनुसार कुष्माण्डा देवीकै पूजा आराधना गर्नुपर्ने जनाएको छ ।

आज बिहान ६ बजेर १६ मिनेटसम्म चौथी तिथि रहेको समितिका अध्यक्ष प्रा.श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो । यसैले आज पनि दुर्गा पूजाको विधिअनुसार कुष्माण्डा देवीकै पूजा, आराधना गर्नुपर्ने शास्त्रीय विधि रहेको उहाँको भनाइ छ । घटस्थापनादेखि आज पाँचौँ दिन भए पनि तिथि बढेकाले चौथीकै कृत्य आज पनि गर्नेपर्ने समितिले जनाएको छ ।

नवदुर्गामध्येकी पाँचौँ देवी स्कन्दमाताको पूजा, आराधना भने आश्विन शुक्ल पञ्चमीमा सूर्योदय हुने मङ्गलवार अर्थात भोलि गर्नुपर्छ । यस वर्ष नवरात्रमा चौथी तिथि वृद्धि भएको छ भने नवमी तिथि टुटेको छ ।

असोज २५ गते महाअष्टमी तिथिको कृत्य सकेपछि त्यसै दिन केही समय विश्राम गरेर महानवमीको कृत्य गर्नुपर्ने पनि अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । दुर्गा पक्षसमेत भनिने यस वर्षको नवरात्रमा चौथी तिथि वृद्धि भए पनि नवमी तिथि टुटेकाले नौ रातकै नवरात्र रहेको समितिले जनाएको छ । तिथिको घटबढका कारण बेला बेलामा यस्तो हुने गरेको छ ।