रेडियो नेपालका नवनियुक्त कार्यकारी निर्देशक अमरध्वज लामाद्वारा पदभार ग्रहण

काठमाडौँ । रेडियो नेपालका नवनियुक्त कार्यकारी निर्देशक अमरध्वज लामाले आज पदभार ग्रहण गर्नुभएको छ ।

पदभार ग्रहण गर्नुहुँदै नवनियुक्त कार्यकारी निर्देशक लामाले रेडियो नेपालको प्रसारणलाई अझ बढी समावेशी र व्यावसायिक बनाउने गरी आफूले काम गर्ने बताउनुभयो ।

कार्यकारी निर्देशक लामाले प्रसारण सेवाको विकास र विस्तारका लागि सामूहिक प्रयासको आवश्यकता रहेको भन्नुहुँदै एकीकृत कार्ययोजना बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यकारी निर्देशक लामाले कर्मचारीहरूलाई सहज र उत्साहजनक वातावरणमा काम गर्नसक्ने गरी नतिजामुखी प्रणालीको व्यवस्था गर्ने बताउनुभयो ।

प्रदेश प्रसारण केन्द्रहरूलाई स्रोतसाधन सम्पन्न बनाउने, महिला कर्मचारी तथा अपाङ्गता भएका कर्मचारीहरूका लागि काम गर्ने सहज वातावरणको व्यवस्थापन गर्ने पनि कार्यकारी निर्देशक लामाले उल्लेख गर्नुभयो ।

कार्यक्रममा रेडियो नेपाल सञ्चालक समितिका सदस्य तिलकजंग बुढाथोकीले रेडियो प्रसारणलाई वर्तमान प्रविधि सुहाउँदो बनाई सबैको मन जित्ने गरी सामग्री उत्पादन तथा प्रसारण गर्नुपर्नेमा जोड दिनुभयो ।

बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले लामालाई रेडियो नेपालको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । उहाँले करिब २३ वर्षसम्म रेडियो नेपालमा कार्यरत रही स्वछीक अवकाश लिनुभएको थियो । पत्रकारितामा स्नातकोत्तर गर्नुभएका लामाले २०५४ सालमा दिपायल प्रसारण केन्द्रबाट उद्घोषकको रुपमा सेवा सुरु गर्नुभएको थियो । लामा मदनभण्डारी फाउण्डेसनको केन्द्रीय सदस्यसमेत हुनुहुन्छ ।

उहाँले संयुक्त राष्ट्रसंघीय रेडियो कार्यक्रमको पूर्व प्रोड्युसर, रेडियो नेपालका पूर्व बोर्ड सदस्यको रुपमासमेत काम गरिसक्नुभएको छ ।

निमित्त कार्यकारी निर्देशक खगेन्द्र खत्रीले संस्था र नागरिकप्रतिको दायित्वलाई आत्मसाथ गर्दै नयाँ नेतृत्व अघि बढ्नुपर्ने बताउनुभयो ।

यस्तै, कार्यक्रममा रेडियो नेपालका नायव कार्यकारी निर्देशक द्वय चन्द्रभुषण लाल दास र कृष्णचन्द्र पौडेलले सार्वजनिक प्रसारण सेवामा रूपान्तरण हुन गइरहेको रेडियो नेपालले अहिले पनि त्यस अनुरूपको दायित्व निर्वाह गरिरहेको बताउनुभयो ।