मानिसलाई प्रकृतिसँग जोडेर लाभ लिने नीत बनाउनुपर्छ : शंकर पोखरेल

काठमाण्डौ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वन क्षेत्रको संरक्षणको लागि विगतको दृष्टिकोण बदल्नुपर्ने बताउनुभएको छ ।

सामुदायिक वन दिवस–२०८१ को अवसरमा नेकपा एमाले केन्द्रीय वन तथा वातावरण विभागद्वारा शुक्रबार काठमाडौंमा आयोजित ‘वनको दिगो व्यवस्थापन, समृद्धि तथा जलवायु न्याय’ राष्ट्रिय नीति संवाद कार्यक्रममा बोल्दै महासचिव पोखरेलले प्रकृति र मान्छे जोडिएन भने प्रकृति सधैँभरि संरक्षण हुन नसक्ने बताउनुभयो । ‘मान्छेसँग नजोडिएको संरक्षणको कुनै अर्थ हुँदैन’, उहाँले भन्नुभयो ।

परम्परागत संरक्षणका विषय अहिलेको अवस्थामा सार्थक नहुने उहाँले बताउनुभयो । प्रकृतिलाई आजको मान्छेको आवश्यकता अनुसार प्रयोग गर्ने गरी नीति बनाउनु पर्ने उहाँको राय छ । पोखरेले अहिलेका धेरै कानून प्रकृति र वन संरक्षणमा बाधक भएका बताउनुभयो । त्यसैले यस्ता कानून सुधार नगरेसम्म वन संरक्षण हुन नसक्ने उहाँले प्रष्ट पार्नुभयो ।

अर्ग्यानिक उत्पादन र पर्यापर्यटनलाई जोड्न सक्ने हो भने नेपालको समृद्धिको आधार त्यसैले तयार गर्ने पोखरेलले बताउनुभयो । मानिसलाई प्रकृतिसँग जोडेर लाभ लिने नीत बनाउनु पर्ने उहाँको सुझाव छ ।

नेपालको वन सम्बन्धी कानूमा कमजोर दण्डित हुने तर पहुँचवालाले दोहन गरिरहने स्थिति रहेको बताउनुभयो । वन पैदावारको उपभोगको विषयमा समग्र अध्ययन गरी कानुन बनाउनु पर्नेमा उहाँले जोड दिनुभयो । ‘मान्छे र प्रकृति कहिल्यै अलग नगर्ने गरी नीति निर्माण गर्ने कुरामा जाऊँ’, उहाँले भन्नुभयो ।

उहाँले अरूका लागि हाम्रो प्रकृति संरक्षण गरिदिन नसकिने बताउनुभयो। विश्व समुदायको लागि नेपालको प्रकृति नेपालीले संरक्षण गरिदिन नसकिने उहाँले प्रष्ट पार्नुभयो। यो दृष्टिकोणका आधारमा नीति निर्माण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । ‘हाम्रो प्रकृति हाम्रा लागि, मुख्य प्रश्न यो हो, हाम्रो प्रकृति अरूका लागि भन्ने कुरा दोस्रो कुरा हो’, उहाँले भन्नुभयो ।