आज विश्व आदिवासी दिवस मनाइँदै, कोसी प्रदेशमा सार्वजनिक बिदा
काठमाण्डौ – आज विश्व आदिवासी दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
विश्वका आदिवासीहरूले विगत ३० वर्षदेखि मनाउँदै आइरहेको यो दिवस नेपालका आदिवासीले पनि विशेष उत्सवका रूपमा मनाउँदै आएका छन् ।
नेपाल आदिवासी जनजाति महासङ्घ, नेफिनका अनुसार यो वर्ष ‘संविधान प्रदत्त अधिकार आदिवासीहरूको विशेष क्षेत्र, संरक्षित क्षेत्र र स्वायत्त क्षेत्र कार्यान्वयन गर, प्रदेश र स्थानीय तहको सरकारी कामकाजको भाषामा आदिवासी जनजातिको भाषा लागु गर’ भन्ने मूल नारासहित दिवस मनाइँदैछ ।
यस वर्ष संयुक्त राष्ट्रसङ्घले स्वैच्छिकरुपमा अलग बसिरहेका र भर्खरै सम्पर्कमा आएका आदिवासीहरूको अधिकार संरक्षण भन्ने अन्तर्राष्ट्रिय नारा तय गरेको छ ।
कोसी प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले विश्व अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसका अवसरमा प्रदेशभर शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
कोसी सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले प्रदेशभित्रका सबै सरकारी कार्यालय, स्थानीय तह, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थामा बिदा दिने निर्णय भएको बताउनु भयो ।