
हवाई सुरक्षाबारे छानबिन गरी दोषीलाई कारबाही सिफारिस गर्न संसदीय समितिको निर्देशन
काठमाण्डौ । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले नेपालको हवाई सुरक्षा र सुरक्षा मापदण्ड कार्यान्वयन भए नभएको सम्बन्धमा छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ ।
समितिको आजको बैठकले १५ दिनभित्र विज्ञहरुबाट छानबिन गरी आवश्यक नीतिगत सुधार गर्न र कोही दोषी देखिएमा कारबाहीको लागि सिफारिस गर्न समेत निर्देशन दिएको हो ।
संसदीय समितिले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, राज्यमन्त्री अरुण कुमार चौधरी, मन्त्रालयका सचिव डा। गणेशप्रसाद पाण्डेय, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी लगायतसँग छलफल गरेको थियो ।
छलफलपछि समितिले नेपालमा हवाई नीति २०६३ सालदेखि कार्यान्वयनमा आए तापनि नेपालको हवाई उडान सुरक्षा सम्बन्धी छुट्टै नीति आवश्यक रहेको बताउनुका साथै उक्त नीति तर्जुमा गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ ।