बङ्गलादेशमा रहेका सयौँ हिन्दु सुरक्षाका कारण देखाउँदै भारतीय सीमामा

काठमाण्डौ। विद्यार्थी नेतृत्वको विद्रोहले प्रधानमन्त्री शेख हसिनालाई सत्ताबाट अपदस्थ गरेको केही दिनपछि सुरक्षाको समस्या देखाउँदै बङ्गलादेशका सयौँ नागरिक भारत प्रवेशका लागि भारत–बङ्गलादेश सीमामा भेला भएका बिहीबार सुरक्षा अधिकारीहरूले बताएका छन् ।

पूर्व प्रधानमन्त्रि हसिनाको निष्कासनपछि मुस्लिम बहुल बङ्गलादेशका केहीले उहाँसँगको निकट सम्बन्धको आशङ्कामा हिन्दुहरूको स्वामित्वमा रहेका केही व्यवसाय र घरहरूमा आक्रमण गरेका थिए ।

भारतको सीमा सुरक्षा बल ९बीएसएफ० का उप–महानिरीक्षक अमित कुमार त्यागीका अनुसार सयौँ बङ्गलादेशी नागरिक प्रायः हिन्दुहरू, बङ्गलादेशसँगको भारतको सिमानामा भेला भएका छन् ।

“दुई देशबिचको सीमामा कुनै पर्खाल नभएको कारण बीएसएफका जवानले भीडलाई टाढा राख्न मानव ढाल निर्माण गरेका थिए । अधिकारीहरूले सीमा क्षेत्रबाट भीड पन्छाउन हवाई फाएर गरेका थिए,” उहाँले भन्नुभयो ।

सन् २००९ देखि सत्तामा रहनुभएका ७६ वर्षीया हसिनाले एक महिनाभन्दा बढी चलेको आक्रामक विरोध प्रदर्शनपछि सोमबार राजीनामा दिनुभएको हो । त्यसपछि बङ्गलादेशको सुरक्षा स्थितमा सुधार भएको छ तर उहाँका समर्थक र पार्टीका अधिकारीमाथि आक्रमणको खबर आएको छ ।

बङ्गलादेश हिन्दु, बौद्ध, क्रिश्चियन, युनिटी काउन्सिलले यस हप्ताको सुरुमा सोमबार कम्तीमा १० वटा हिन्दु मन्दिरहरूमा आक्रमण गरिएको बताएको थियो ।