पोखरा बस दुर्घटना : छानबिन समिति गठन

काठमाण्डौ । पोखरा–१७, विरौटामा रहेको एलपी देवकोटा स्कुलको बस दुर्घटना छानबिनका लागि समिति गठन गरिएको छ ।

पोखरा महानगरका मेयर धनराज आचार्यको निर्देशनमा समिति गठन गरिएको हो । दुर्घटनाको छानबिन गर्न महानगरका शिक्षा निर्देशक हेमप्रसाद आचार्यको संयोजकत्वमा समिति गठन गरिएको छ । समितिमा उपसचिव कृष्णप्रसाद तिवारी, नगरप्रहरी पुरुषोत्तम थापा, मेडिकल इन्जिनियर सरोज चालिसेलाई सदस्य तोकेको छ । रामप्रसाद तिवारी सदस्य–सचिव रहेका छन् ।

एलपी देवकोटा स्कुलको ग १ क ६२१९ नम्बरको बस सोमबार बिहान घटनास्थलबाट झन्डै ५० मिटर तल खसेको थियो। उक्त दुर्घटनामा पोखरा–२१ का ३३ वर्षीया आरती विक र उनका ६ वर्षीय छोरा प्रिन्स विकको उपचारको क्रममा गण्डकी मेडिकल कलेजमा ज्यान गएको हो ।

समितिलाई सात दिनभित्र दुर्घटना हुनुको कारण, सवारीसाधन, चालकको अवस्था, बसमा रहेका विद्यार्थी संख्या, राख्न पाउने संख्या लगायतका विषयमा अध्ययन गर्न भनिएको छ । आगामी दिनमा यस्ता प्रकृतिका दुर्घटना न्यूनीकरण गर्न सुझाव समेत बुझाउन भनिएको छ ।

बसका चालक, कार्यालय सहयोगी, शिक्षक, अभिभावक तथा विद्यार्थीसहित बसमा ३० जना सवार थिए ।