निर्वाचन आयुक्तमा सिफारिश कृष्णमान प्रधानद्वारा संसदीय सुनुवाइ समितिबाट नाम फिर्ता

काठमाण्डाै ।  निर्वाचन आयुक्तमा सिफारिश कृष्णमान प्रधानले संसदीय सुनुवाइ समितिबाट आफैँ नाम फिर्ता लिनुभएको छ ।

नैतिक चरित्रमा व्यापक प्रश्न उठेपछि संसदीय समितिले उहाँको नाम अनुमोदन नगर्ने तयारी गरेको थियो । समितिले अनुमोदन गर्न अस्वीकार गर्नुअघि नै कृष्णमान प्रधानले निवेदन दिएर आफ्नो नाम फिर्ता लिनुभएको हो ।

यौन शोषणको आरोप लागेका प्रधानको बारेमा पीडित महिलाले समितिमै आएर बयान दिएकी थिइन् । पीडितसहित चार वटा उजुरी परेकोमा समितिले उजुरीकर्तासँग छलफल गर्दा घटना भएको तथ्य प्रमाण फेला पारेको थियो । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले प्रधानको पत्र आएको र यसबारेमा आजै बेलुका ५ बजे बस्ने समितिको बैठकले निर्णय गर्ने जानकारी दिनुभयो ।

आजै नेपाली कांग्रेस र नेकपा एमालेले आन्तरिक बैठक डाकेर प्रधानको नाम अनुमोदन गर्न नहुने निष्कर्ष निकालेका थिए । प्रधानमाथि यौन शोषणको आरोप लागेको र यसबारेको मुद्दामा मिलापत्र गरेको प्रमाणसमेत भएकाले निर्वाचन आयोगको आयुक्त बनाउन योग्य नभएको सांसदहरूको राय छ ।

सुनुवाइ समितिका धेरै सदस्य यौन शोषण मुद्दा पैसा दिएर मिलापत्र गरेका प्रधानको उच्च नैतिक चरित्र नभएको र प्रधानले दिएको जवाफसमेत चित्तबुझ्दो नभएकाले निर्वाचन आयुक्तमा सिफारिश गर्न नहुने पक्षमा छन् ।

संसदीय समितिबाट अस्वीकृत भएपछि आफ्नो नैतिक चरित्रमा थप प्रश्न उठ्ने र कानूनी रूप लिने भएपछि प्रधानले आफैँ नाम फिर्ता लिने बाटो रोज्नुभएको हो । गएको असार २ गते संवैधानिक परिषद्को बैठकले प्रधानको नाम निर्वाचन आयुक्तका लागि सिफारिश गरेको थियो ।