आज विश्व बाघ दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ
काठमाण्डौ । आज विश्व बाघ दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । पाटे बाघ संरक्षणको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ मा विश्व बाघ दिवस मनाउने गरिन्छ ।
पाटे बाघ नेपालसहित विश्वका १३ देशमा पाइन्छन् । ती देशका सरकार तथा राष्ट्र प्रमुखको सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा भएको सम्मेलनले बाघको सङ्ख्या सन् २०२२ सम्ममा दोब्बर बनाउने प्रतिबद्धता व्यक्त गरेको थियो ।
दुई वर्षअघि सन् २०२२ मा गरिएको गणनाअनुसार नेपालमा अहिले बाघको सङ्ख्या तीन सय ५५ पुगेको छ ।
निकुञ्जहरूमा बाघको सङ्ख्या बढेपछि मानव र बाघ द्वन्द्व बढेको छ । आहाराको खोजीमा बाघहरू जङ्गल बाहिर निस्कँदा मानवीय क्षति बढेको छ । बाघको संरक्षणसँगै बासस्थान सुधार र व्यवस्थापनमा ध्यान दिन विज्ञहरुले आग्रह गर्दै आएका छन् ।
बाघको सङ्ख्या बढेसँगै यिनको व्यवस्थापन, मानव, वन्यजन्तु ,द्वन्द्व न्यूनीकरण, बासस्थान सुधारलगायतका विषय चुनौती बनेका छन् ।