
गृहमन्त्री लेखकद्वारा विपदका घटना बारे संसदमा जानकारी
काठमाण्डौ। गृहमन्त्री रमेश लेखकले विपदका घटनाको बारेमा प्रतिनिधि सभा बैठकमा जानकारी दिनु भएको छ । संसदमा बोल्दै गृहमन्त्री लेखकले जेठ २८ देखि हालसम्म १ हजार ५९२ घटना विपदका घटना भएको र सो क्रममा १३० जनाको मृत्यु भएको १४४ जना घाइते, ४८ जना वेपत्ता भएको र ५९४ पशुचौपाया नोक्सानी भएको जानकारी दिनुभयो ।
यसबर्षको बाढी पहिरोबाट २३१ घर र ८४ गोठमा क्षति पुगेको भन्दै ४३ वटा पुल र २ सरकारी भवन भत्किएको तथा ४ हजार ४ परिवार विस्थापित हुने अवस्था आएको र जसमध्ये १ हजार ५९ परिवालाई सुरक्षित स्थानमा सारिएको उहाँले संसदमा बताउनु भयो । उहाँले प्राकृतिक विपदबाट देशका ७७ वटै जिल्ला प्रभावित भएको र विपदपछिको खोज तथा उद्धारका लागि नेपाल प्रहरीबाट ७ हजार १६९ र सशस्त्र प्रहरीका ३ हजार ९५६ जना खटिएको अवस्था बारे जानकारी दिनुभयो ।
ती सुरक्षाकर्मीले ९८९ जनालाई उद्धार गरेको तथा उद्धारमा कतिपय स्थानमा नेपाली सेना समेत खटिएको साथै प्रभावितहरुलाई आवस्यक राहत सामग्रीको प्रबन्ध गरेको तथा मृत्यु भएकामध्ये ४७ परिवारलाई राहत दिइसकेको र बाँकी प्रक्रियामा रहेको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै उहाँले ४८ जना वेपत्ता भएकाहरुको पत्ता नलागेका परिवारलाई मृतक सरह नै राहत उपलव्ध गराउने निर्णय भएको जानकारी दिनुभयो । घाइते १४४ जना मध्ये ५ उपचाररत छन् भने बाँकी सबै उपचारपछि अस्पतालबाट डिस्चार्ज भएर घर गइसकेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो – “घाइतेको उपचारमा तीनै तहका सरकार खटेको अवस्था छ । ९ जना घाइतेको हेलिकप्टरबाट उद्धार गरिएको छ । असार २८ मा चितवनको सिमलतालमा बस दुर्घटनामा परी बेपत्ता भएका ६२ जना मध्ये हालसम्म २४ जनाको शव फेला परेको छ । १९ जनाको पहिचान भइ आफन्तले शव बुझिलगेका छन् भने पाँच जनाको पहिचान हुनु सकेको छैन । बाँकी ४३ जनाको खोजी कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले खोजी कार्य गरिरहेको छ । खोजी कार्यका लागि ३६८ सुरक्षाकर्मी अहोरात्र खटिएको अवस्था छ ।”