मंसिर २ गतेसम्म न्यूरोडमा निर्माणसम्बन्धी कुनै काम नगर्ने सहमति

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले न्यूरोड क्षेत्रमा मंसिर २ गतेसम्म निर्माणसम्बन्धी कुनै काम नगर्ने सम्बन्धित वडा र स्थानीय वासिन्दासँग सहमति गरेको छ । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन), उपमेयर सुनीता डंगोल, महानगर प्रवक्ता नवीन मानन्धर र वडा नम्बर २२ का अध्यक्ष चिनीकाजी महर्जन, २३ का अध्यक्ष मचाराजा महर्जनसहितको टोली वार्तामा बसेको थियो ।

सहमतिअनुसार कार्यदल बनाएर कार्यदलले दिएको सुझावका आधारमा त्यसपछि फुटपाथ विस्तारलाई के गर्ने भनी निर्णय गरिनेछ । सुमनराज भण्डारीको संयोजकत्वमा गठित कार्यदलमा २२, २३ र २४ नम्बर वडाका अध्यक्ष र २२ बाट विज्ञ साथै महानगर निर्माण विभागका प्रमुख सुरज शाक्य सदस्य सचिव छन् । हाल इन्द्रचोकमा गरिएको फुटपाथ विस्तारले पारेको प्रभावबारे अध्ययन गरेर कार्यदलले प्रतिवेदन बुझाउने छ । उक्त प्रतिवेदनको सुझावको आधारमा थप कार्य अघि बढाउने सहमति भएको बताइएको छ ।