
अर्थतन्त्र चलायमान बनाउन प्रधानमन्त्रीलाई चेम्बरको ४३ बुँदे सुझाव
काठमाण्डौ। नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी एवं कार्यसमितिका सदस्यहरुले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई एवं शुभकामना दिएको छ । अध्यक्ष कमलेश कुमार अग्रवाल सहितको पदाधिकारी एवं कार्यसमितिको टोलीले प्रधानमन्त्री ओलीसमक्ष बालुवाटारमा भेटवार्ता गर्दै नीतिगत स्थायित्व र अर्थतन्त्रलाई चलायमान बनाउन ४३ बुँदे सुझाव दिएको हो ।
बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वय मार्फत अर्थतन्त्रलाई चलायमान बनाउन चेम्बरले प्रधानमन्त्री ओली समक्ष आग्रह गरेको छ । चेम्बरद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘करिव ४ बर्षदेखि मुलुकको अर्थतन्त्र अस्थिर अवस्थामा छ । कोभिड महामारीको प्रभाव, रुस युक्रेन युद्धले विश्वव्यापी आपूर्ति श्रीङखलामा पारेको असर एवं पछिल्लो ३ बर्ष देखिको निरन्तर संकुचित नीतिहरुले आर्थिक गतिविधीमा शिथिलता उत्पन्न भएको छ ।’ चालु आर्थिक वर्षको बजेट र आगामी मौद्रिक नीतिको प्रभावकारी समन्वय मार्फत अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने अध्यक्ष कमलेश कुमार अग्रवालले बताउनु भयो ।
आर्थिक गतिविधीमा आएको संकुचनले माग र आपूर्तिबीच असन्तुलन, निजी क्षेत्रको सम्पत्तिमा संकुचन एवं बैंक तथा वित्तीय संस्थामा तरलता भएपनि निजी क्षेत्रमा लगानीप्रति आर्कषण नभएकोप्रति अध्यक्ष अग्रवालले प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराउनु भयो ।
मुलुकको अर्थतन्त्रमा झण्डै ८१ प्रतिशत लगानी भएको निजी क्षेत्रमा वित्तीय सहजीकरण हुनुपर्ने चेम्बरले उल्लेख गरेको छ । काठमाडौं लगायत मुलुकका अधिकांश ठूला सहरमा ब्यापारिक सटर बन्द भएकोप्रति चेम्बरले प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएको छ । उच्च अंकको आर्थिक वृद्धिदर हासिल गर्न स्थायी रुपमै एकल अंकको ब्याज कायम हुनुपर्ने चेम्बरको ठहर छ ।
मौद्रिक नीतिको आगामी कार्यदिशा पुर्ण रुपले विस्तारित एवं खुकुलो र लचिलो हुनुपर्नेमा पनि चेम्बरले जोड दिएको छ । निजी क्षेत्रमा प्रवाह हुने कर्जालाई सहजीकरण गरिनुपर्ने चेम्बरले जनाएको छ । आर्थिक मन्दीबाट उन्मुक्ती नपाउन्जेलसम्ममा उद्यमी व्यवसायीहरुलाई चालु पुँजीको उपलव्धता सरल र सहज तवरले हुनुपर्ने एवं हाल जारी चालुपुँजी कर्जा निर्देशिकालाई तत्काल स्थगित गरिनुपर्नेमा चेम्बरले जोड दिएको छ ।
यस्तै घरजग्गा कारोबारलाई थप गति दिन ५० लाख भन्दा माथीको कर्जाका शतप्रतिशत जोखिमभार कायम गरिनुपर्ने चेम्बरको माग छ । घरजग्गाको कर्जा प्रवाहमा हुने मुल्याङकनको सीमा ७०–३० बाट बढाएर ८०–२० को अनुपात कायम गरिनुपर्नेमा पनि चेम्बरले जोड दिएको छ ।
चेम्बर पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री ओलीले उधमशिलता विकास र रोजगारी सिर्जना सरकारको पहिलो प्राथमिकता रहेको बताउनु भएको छ । मुलुकको आर्थिक अवस्था सुदृढ र प्रभावकारी परिणाम दिनेगरी काम सुरु भएको प्रधानमन्त्री ओलीको भनाई छ । मुलुकको समग्र आर्थिक पक्षको मुल्याङक गरी सरकारले नीतिगत निर्णयहरु गर्दै जाने प्रधानमन्त्री ओलीले बताउनु भयो । उहाँले ढुक्क भएर लगानी एवं व्यवसायिक गतिविधी गर्न चेम्बर पदाधिकारी एवं कार्यसमितिका सदस्यहरुसंग आग्रह गर्नुभयो ।