
अनुसन्धान र किसानलाई प्रोत्साहन गर्न नसक्दा स्थानीय घैया धान लोप हुँदै
काठमाण्डौ । विगतमा पाखो बारी र खेत खोस्रेर आफैँले उत्पादन गरेका धानको चामलबाट भात खाने चलन थियो । त्यसैकारण घैया धानको खेती पनि हुने गर्थ्यो । घैया धान वर्षातको पानीकै भरमा टार र पाखाबारीमा फल्थ्यो । विगतमा निकै चलनमा भए पनि अहिले घैया धान लोप हुने अवस्थामा पुगेको छ । सरकारले घैया–२ लाई २०४४ सालमा र घैया १ लाई २०६६ सालमा सिफारिस गरेको थियो । तर किसानले घैया धानको खेती गर्न छोडेपछि अहिले बीउ नै मासिएर लोप हुने हो कि भन्ने चिन्ता बढेको छ । पौष्टिक तत्वको मात्रा धेरै हुने घैया धानको चामल खाँदा बास्ना आउने र चिउरा समेत स्वादिलो हुने भए पनि खेती हुन छोडेपछि पछिल्लो पुस्ताले त घैया धान नै देख्न पाएका छैनन् । अहिले खेती गर्नुभन्दा चामलसहित धेरैजसो अन्न बजारबाट किनेर खाने अवस्था आएको छ । यही कारणले धेरैजसो कृषि उपजको उत्पादन घट्दो छ । त्यसमा पनि घैया धान त लोप नै हुने अवस्थामा पुगेको धानबालीका विज्ञ बताउँछन् ।