
बंगलादेशबाट फर्किए नेपाली विद्यार्थी
काठमाडौं । आरक्षण कोटाको विरोधमा आन्दोलन चर्किएपछि बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थी स्वदेश फर्किएका छन् ।
बाङ्लादेश एयरलाइन्सबाट करिब ४७ जना विद्यार्थी आएका छन् । केही हिमालयन एयरबाट साँझ आउने तयारी छ । उनीहरूलाई सम्बन्धित कलेजले एम्बुलेन्समा राखेर विमानस्थल ल्याइदिएको थियो ।
आइतबार बिहान उनीहरू त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किएका हुन् । अहिलेसम्म करिब ८ सय विद्यार्थी विमानस्थल र स्थलमार्ग हुँदै स्वदेश फर्किएको सरकारले बताएको छ । बंगलादेशमा जारी आन्दोलनका कारण ३५ जना भन्दा बढीको मृत्यु भइसकेको छ ।
बंगलादेशमा सरकारी सेवामा रहेको कोटा प्रणाली खारेजीको माग गर्दै भएको आन्दोलनका कारण समस्या उत्पन्न भएको हो । आन्दोलन थप भड्किएपछि त्यहाँको सरकारले शनिबारदेखि कर्फ्यू लगाएको छ । बंगलादेशमा रहेका अन्य नेपालीलाई सुरक्षित स्थानमा रहन र बाहिर ननिस्किन आग्रह गरिएको छ ।
बंगलादेशबाट आज नेपाल फर्किएका विद्यार्थी सदीक्षा बस्नेतले आफूहरू एमबीबीएस पढ्न ३ महिनाअघि मात्रै गएको बताइन् । परराष्ट्र मन्त्रालयले एक सूचना जारी गर्दै बङ्गलादेशमा रहनुभएका नेपाली विद्यार्थीहरू सम्बन्धमा अनलाइन निवेदन दिन अभिभावकसँग अनुरोध गरेको छ ।