समाधानका विकल्पसहितको पत्रकारिता गर्नुपर्ने आजको आवश्यकता हो : अध्यक्ष बस्नेत

काठमाण्डौ । अबको पत्रकारिता रचनात्मक र समाधानमुखी हुनुपर्ने प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले बताउनु भएको छ ।

सामाजिक सञ्जालमार्फत अध्यक्ष बस्नेतले यस्तो बताउनु भएको हो । बस्नेतले प्रश्न उठाउने मात्र नभई समाधानका विकल्पसहितको पत्रकारिता गर्नुपर्ने दायित्व मिडिया जगतमा आइपरेको उल्लेख गर्नुभएको छ । पत्रकारिता सृजनात्मक, रचनात्मक र समाधानमुखी हुनुपर्ने उहाँको धारणा छ ।

सामाजिक सञ्जालमा अध्यक्ष बस्नेतले भन्नुभएको छ, ‘प्रश्न उठाउने र समस्या राख्नेमा मात्र अबको पत्रकारिता केन्द्रित छैन । समाधानका सम्भावित उपाय, विकल्पहरु सहित प्रश्न उठाउने दायित्व मिडिया जगतमा छ । समाधन के हुन सक्छ ? अहिले किन भइरहेको छैन ? असल सुरुवात के भइरहेका छन् ? त्यसमा बाधा के, कसरी भइरहेको छ ? जस्ता जिज्ञासासहितलाई मिडिया जगतले प्रस्तुत गर्दा सृजनात्मक, रचनात्मक र समाधानमुखी पत्रकारिता गरेको ठहर्छ,’ ।

नेपाली मिडिया जगतको नियामक निकाय रहेको काउन्सिलका प्रमुख बस्नेतले पछिल्लो समय सामाजिक सञ्जाल र सञ्चार माध्यम छुट्याएर हेर्नुपर्ने र त्यसका लागि डिजिटल साक्षरतामा जोड दिँदै आउनु भएको छ । समाचार र सामाजिक सञ्जालका कन्टेन्टलाई चामल र भुस सरह छुट्याएर हेर्नुपर्ने बाध्यता रहेको उहाँको भनाई छ ।

यस्तै उहाँले सबै युट्युवरलाई पत्रकार भन्न नमिल्ने जानकारी समेत दिनु भएको छ । ‘सबै युट्युबर पत्रकार होइनन्, सबै पत्रकार राम्रा युट्युवर हुन सक्छन्,’ बस्नेतको भनाई छ । पछिल्लो समय प्रेस काउन्सिल नेपालले सामाजिक सञ्जालमार्फत सार्वजनिक कन्टेन्टलाई कडाइ गर्दै आएको छ ।