
आज प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदै
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिन लाग्नुभएको हो ।
एमाले अध्यक्ष समेत रहनुभएका ओली नेपाली कांग्रेसको सहयोगमा असार ३० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । उहाँलाई सरकारमा सहभागी नेकपा एमाले, नेपाली कांग्रेस, जसपा, लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने भएको छ ।
प्रतिपक्षमा रहेको माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), राप्रपा लगायतका दलले भने उहाँलाई विश्वासको मत नदिने भएको छ। यी दलले विश्वासको मत नदिए पनि दुई तिहाइ मत पक्षमा पु¥याउने तयारीमा प्रधानमन्त्री ओली रहनुभएको छ ।
एमालेले आज बस्ने प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरूमा ह्विप जारी गरेको छ । प्रधानमन्त्रीले विश्वासको मत लिने भएकोले सांसदहरूलाई ह्विप जारी गरिएको मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो ।
नेपाली कांग्रेसले पनि आज बिहानको लागि संसदीय दलको बैठक बोलाएको छ । प्रधानमन्त्रीको पक्षमा मतदान गर्न कांग्रेसले पनि आफ्ना सांसदलाई ह्विप जारी गर्ने तयारी गरेको छ ।