सम्झौता नगरी काम गर्न प्रहरीलाई गृहमन्त्री लेखकको निर्देशन

काठमाण्डौ ।  निष्पक्ष, पारदर्शी र व्यावसायिक भएर काम गर्न गृहमन्त्री रमेश लेखकले प्रहरीलाई निर्देशन दिनु भएको छ ।

बुधबार प्रहरी प्रधान कार्यालयको निरीक्षण गरेका गृहमन्त्री लेखकले व्यावसायिकतामा सम्झौता नगरी काम गर्न निर्देशन दिनु भएको हो ।

मन्त्री लेखकले भन्नु भयो ‘निष्पक्ष, पारदर्शी र व्यावसायिकतामा कुनै हालतले कमी हुनुभएन र यससँग सम्झौतापनि हुन सक्दैन । प्रहरी कर्मचारीहरूले उच्च मनोबलका साथ काम गर्नुपर्छ । यसका लागि जेजति प्रेरणादायी काम गर्नुपर्छ मन्त्रालय सधै प्रतिवद्ध छ ।

गृहमन्त्री लेखकले कार्यक्रममा उपस्थित तथा भर्चुअल रूपमा उपस्थित प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन दिनु भएको थियो । सो क्रममा उहाँले कानुनी व्यवस्था कायम गर्न, शान्ति सुरक्षा तथा अपराध अनुसन्धान एवम् नियन्त्रण गरी समाजलाई न्याय दिन आग्रह गर्नु भयो ।

नेपाल प्रहरीको इतिहास गर्व गर्नलायक रहेको उल्लेख गर्दै सीमित साधन स्रोतमा पनि शान्तिसुरक्षा कायम गर्न, अपराध अनुसन्धान एवम् विपदको समयमा उद्दार गर्न, जोखिमबाट बचाउन नेपाल प्रहरीले निर्वाह गरेको भूमिका महत्वपूर्ण रहेको गृहमन्त्री लेखकले बताउनु भयो ।

गृहमन्त्री लेखकले विपदको पीडामा भएका व्यक्तिहरूको समस्या सम्बोधनका लागि प्रहरी थप सक्रिय हुन पनि निर्देशन दिनु भयो ।

प्रहरी संगठनलाई व्यवस्थित, क्रियाशील र सुदृढ बनाउनका लागि ऐनको समसामयिक संशोधन र परिमार्जनलाई मन्त्रालयले प्राथमिकतामा राखेर काम गर्ने उहाँले बताउनु भयो ।