गत आर्थिक वर्ष आन्तरिक राजस्व कार्यालय भद्रपुरको तीन अर्ब राजस्व सङ्कलन

काठमाण्डौ । आन्तरिक राजस्व कार्यालय भद्रपुरले आर्थिक वर्ष २०८०–८१ मा तीन अर्ब २१ करोड १२ लाख ६७ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले गत असारमा मात्र ३० करोड ७१ लाख नौ हजार राजस्व सङ्कलन गरेको हो ।

कार्यालयले आर्थिक वर्ष २०७९–८० को तुलनामा १९ करोड ५२ लाख ९१ हजार बढी राजस्व सङ्कलन गरेको छ । गत आर्थिक वर्षमा तीन अर्ब एक करोड ५९ लाख ७६ हजार राजस्व सङ्कलन भएको आन्तरिक राजस्व कार्यालय भद्रपुरका सूचना अधिकारी भीमप्रसाद आचार्यले जानकारी दिनुभयो । गत आर्थिक वर्षमा कार्यालयको तीन अर्ब ७९ करोड ७१ लाख राजस्व उठाउने लक्ष्य थियो । तर ८४ दशमलव ५७ प्रतिशतमात्र राजस्व सङ्कलन गर्न सकिएको छ ।

आन्तरिक राजस्व कार्यालयले आयकरबाट एक अर्ब ६९ करोड ९४ लाख, भाडा आयकरबाट तीन करोड ६४ लाख, ब्याजबापत . ११ करोड ५९ लाख, मूल्य अभिवृद्धि करबापत एक अर्ब २९ करोड पाँच लाख लाख तथा अन्तःशुल्कबापत ६४ करोड ४६ लाख ५५ हजार राजस्व सङ्कलन गरेको सूचना अधिकारी आचार्यले बताउनुभयो ।

जिल्लामा विकास निर्माणका आयोजनामा चालु आर्थिक वर्षमा कम भुक्तानी हुँदा मूल्य अभिवृद्धिकरबापत हुने आम्दानी घटेको छ । गत आर्थिक वर्षमा मूल्य अभिवृद्धिकरबापत एक अर्ब ३७ करोड ८८ लाख ९२ हजार राजस्व सङ्कलन भएको थियो ।