शिक्षा मन्त्रालयको नेतृत्वमा एमालेकी प्रतिभाशाली नेता विद्या भट्टराई

काठमाण्डौ । नेकपा एमालेकी प्रतिभाशाली नेता विद्या भट्टराईले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी प्राप्त गर्नुभएको छ । कास्की क्षेत्र नम्बर २ बाट निर्वाचित हुनुभएकी सांसद भट्टराईले आज (सोमबार) पद तथा गोपनीयताको सपथ लिनुभएको छ ।

दोस्रो पटक प्रतिनिधिसभा सदस्यको कार्यकाल बिताइरहेकी विद्या भट्टराई पहिलो पटक मन्त्री बन्नुभएको छ । २०७६ सालमा उपनिर्वाचनमार्फत संघीय संसद छिर्नुभएकी उहाँ २०७९ मा उपसभामुखको उम्मेदवार बनेपनि तत्कालीन समयमा कांग्रेस–माओवादी गठबन्धनको उम्मेदवारसँग भट्टराई पराजित हुनुभयो ।

वि.सं २०७५ सालसम्म शिक्षण पेसामै आवद्ध रहनुभएकी उहाँले २०७२ मा समाजशास्त्रमा एमफिल गर्नुभयो । २०७४ मा त्रिभुवन विश्वविद्यालय सेवा आयोगबाट उपप्राध्यापक पदमा नाम निकालेपछि उहाँले रत्नराज्य क्याम्पसमा अध्यापन पनि गर्नुभयो । तर २०७५ फागुन १५ गते ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा पति रवीन्द्र अधिकारी स्वर्गीय हुनुभएपछि भने शिक्षण पेसा छोडेर उहाँ सक्रिय राजनीतिमा छिर्नुभयो ।

रवीन्द्र अधिकारीको निधनपछि २०७६ मा उक्त ठाउँमा भएको उपनिर्वाचनमा तत्कालीन नेकपाले विद्यालाई अघि सार्‍यो । उम्मेदवार बन्ने पक्का भएपछि सो समयमा विद्याले उपप्राध्यापकको जागिरबाट राजीनामा दिनुभयो । उहाँले त्यो समयमा कांग्रेसका उम्मेदवार खेमराज पौडेललाई ८ हजार ४०३ मतान्तरले पराजित हुनुभयो ।

पहिलो कार्यकालपछि वि.सं २०७९ सालमा पुनः सोही क्षेत्रमा फेरि दोस्रो पटक एमालेबाट उठ्दा रास्वपाका उम्मेदवार माधवप्रसाद कँडेललाई ४ हजार ५०३ मतले पराजित गर्दै विद्या दोस्रो पटक संसद प्रवेश गर्नुभएको हो ।

विद्यार्थी जीवनबाटै राजनीतिमा सक्रिय उहाँ शिक्षा मन्त्रालयको बागडोर सम्हालन योग्य व्यक्ति हुनुहुन्छ ।