
काउन्सिलको कडा निर्देशन पछि कान्तिपुर टिभीले हटायो कार्यक्रम
काठमाडौंँ । चर्चित कलाकारलाई मुछेर कान्तिपुर टिभिले बजाएको एक कार्यक्रमका विवादित क्लिप प्रेस काउन्सिल नेपालको निर्देशनपछि हटाइएको छ । उक्त टिभिको ‘इट्स माइ सो’ मा दुई साता अघि प्रसारित सामाग्री विवादमा तानिएको थियो ।
ती सामाग्री आपत्तिजनक र तथ्यहीन भन्दै अभिनेत्री जसिता गुरुङसहितले चर्को विरोध गर्नुभएको थियो । प्रेस काउन्सिल नेपालले उक्त शो सार्वजनिक भएलगत्तै स्वःअनुगमन गरेर त्यसबारे प्रष्ट पार्न २४ घण्टे पुर्जी काटेको थियो । टिभिले दिएको लिखित जवाफ चित्त नबुझेर काउन्सिलले प्रस्तोता ओसिन सिटौलासहितलाई लगत्तै बयानका लागि कार्यालयमै बोलाएको थियो ।
काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतसहितको उपस्थितिमा टिभिको टोलीले नै त्यस्ता प्रसङ्ग आएकोमा माफी मागेको थियो । प्रेस काउन्सिलले त्यस्ता विवादास्पद सामाग्री तत्काल हटाउन र त्यसको जानकारी युट्युव च्यानलसहित माध्यममा गराउन लिखित निर्देशन दिएको थियो ।
त्यसलगत्तै टिभिले विभिन्न कलाकारको नाम एक अर्कालाई जोडेर प्रसारित आपत्तिजनक अभिव्यक्ति हटाएको छ ।
प्रेस काउन्सिल समक्ष प्रस्तोता सिटौलाले व्यक्तिगत लाञ्छना लगाउने, आचारसंहिता विपरित हुने गरी आफूले कुनै काम नगर्ने प्रतिवद्धता जनाउनु भएको थियो । यो प्रकरण काउन्सिलमा विचाराधिन रहेकाले थप कारवाही के हुन्छ भन्ने खुलेको छैन ।
प्रेस काउन्सिलले पछिल्लो समय विभिन्न मिडियामा आएका आचारसंहिता विपरितका सामग्री, हुबहु कपी गरी दिएका सामाग्री र बार्गेनिंग गरेका मुद्धामा सक्रियता देखाइरहेको छ ।
यसअघि सिधाकुरा, नेपालआज, दैनिकी, फरकधार, अनलाइनपानासहित ३ दर्जन सञ्चारमाध्यमलाई काउन्सिलले कडा कारवाही गरिसकेको छ ।