कांग्रेस र एमालेबीच राष्ट्रिय सहमतिको’ सरकार बनाउने सहमति

काठमाण्डौ । नेपाली कांग्रेस र नेकपा एमालेबीच संविधान संशोधनको एजेन्डासहित ‘राष्ट्रिय सहमतिको’ सरकार बनाउने सहमति भएको छ । लामो छलफल र गृहकार्यपछि गएराती कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

सहमतिअनुसार पहिलो चरणमा एमाले अध्यक्ष ओली र डेढ वर्षपछि कांग्रेस सभापति देउवा प्रधानमन्त्री बन्नुहुने छ । जस अनुसार निर्वाचन प्रणालीलगायतका विषयमा संविधान संशोधन गर्न सुझाव आयोग बनाउने सहमति पनि भएको स्रोतले जनाएको छ ।

सहमतिअघि देउवा र ओलीले राती नै राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गर्नुभएको छ । कांग्रेस र एमालेबीच सहमतिपछि प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार विघटन हुने निश्चित भएको छ ।

नयाँ सत्ता समीकरणका लागि देउवा र ओलीबीच केही दिनदेखि शृंखलावद्ध छलफल भइरहेको थियो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । एमालेले उहाँलाई दिएको विश्वास मत फिर्ता लिएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ । सहमतिमा प्रदेश सरकारको पनि बाँडफाँट गरिएको दाबी छ ।