झलनाथ खनालको नेतृत्वमा १३ सदस्यीय अध्यक्ष मण्डल गठन,एकीकृत समाजवादीको महाधिवेशन

काठमाण्डौ । नेकपा (एकीकृत समाजवादी) ले दशौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न पार्टीका सम्मानित नेता झलनाथ खनालको नेतृत्वमा १३ सदस्यीय अध्यक्ष मण्डल गठन गरेको छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आज बसेको महाधिवेशनको बन्दसत्रले अध्यक्ष मण्डल गठन गरेको हो । अध्यक्ष मण्डलमा डा. वेदुराम भुसाल, राजेन्द्रप्रसाद पाण्डे, घनेन्द्र बस्नेत, प्रमेश हमाल, केशवलाल श्रेष्ठ, धर्मनाथ साह, जयन्ती राई, रामचन्द्र झा, नागेन्द्र चौधरी, सावित्रा भुसाल, महबुज आलम र गणेश विक सदस्य रहनुभएको हो ।

बन्दसत्रले पार्टीका उपमहासचिव प्रकाश ज्वाला संयोजक रहनुभएको तीन सदस्यीय माइन्युट लेखन कमिटी गठन गरेको छ । समितिका सदस्यमा डा. गङ्गालाल तुलाधर र डा. विजयकुमार पौडेल रहनुभएको हो ।

यसैगरी बन्दसत्रले उपमहासचिव जगन्नाथ खतिवडा संयोजक तथा सदस्य राजेन्द्र राई, रामकुमारी झाँक्री, धर्मनाथ साह, जीवनराम श्रेष्ठ, हरि पराजुली, देवसिंह महता, भवीश्वर पराजुली, यादव रायमाझी, अनारकली मियाँ, अब्दुल हुसेन खाँन, सरिता खड्का र नवराज श्रेष्ठ रहेको बहस नोट कमिटीे गठन भएको छ ।

अध्यक्ष नेपालले महाधिवेशन सम्पन्न गर्नका लागि अध्यक्ष मण्डलका अध्यक्ष खनाललाई टोपी र झोला प्रदान गरी जिम्मेवारी हस्तान्तरण गर्नुभएको छ । अध्यक्ष मण्डलले सम्पूर्ण महाधिवेशन सञ्चालन गर्न विभिन्न संयन्त्र बनाउने तथा विधान र प्रतिवेदनमाथि छलफलबाट सुझाव लिई दस्तावेज बनाएर पारित गर्ने जिम्मेवारी रहेको छ ।

१ हजार ८ सय जनाभन्दा बढी प्रतिनिधिको सहभागिता रहेको महाधिवेशन यही असार २० गतेसम्म सञ्चालन हुने छ ।