न्यु मिडियाका कारण सञ्चार माध्यमबिचको विभेद मेटिँदै गएको काउन्सिल अध्यक्ष बस्नेतको दाबी

काठमाडौँ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले युट्युबलगायत न्यु मिडियाले सञ्चार माध्यमबिचको ठुलो सानो भन्ने विभेद मेटिँदै गएको बताउनुभएको छ । काउन्सिलको आयोजना र सञ्चारिका समूहको संयोजनमा आइतबार काठमाडौँमा सम्पन्न कार्यक्रममा अध्यक्ष बस्नेतले उक्त धारणा व्यक्त गर्नुभएको हो ।

‘न्यु मिडिया र पत्रकार महिला’ विषयक अन्तरक्रिया तथा प्यानल छलफलमा बोल्नुहुँदै अध्यक्ष बस्नेतले न्यु मिडियाले सबैका लागि अवसर सिर्जना गरेको दाबी गर्नुभयो ।

उहाँले नेपालका सन्दर्भमा परम्परागत भनिने सञ्चार माध्यमले पाठकमाझ प्रभावकारी उपस्थिति जनाउन सक्नुपर्ने बताउनुभयो । त्यसका लागि युट्युबसहित सामाजिक सञ्जालमार्फत द्रुत सम्प्रेषणको रणनीति त्यस्ता सञ्चार माध्यमले बनाउनुपर्ने उहाँको भनाइ थियो ।

‘हरेक सङ्कट सँगै समाधान र अवसर आउँछ । तर हामीले के कसरी काम गर्छौ, त्यसमा नै निर्भर हुन्छ ।” उहाँले भन्नुभयो ।  सहभागीहरूसँग अन्तर्क्रिया गर्नुहुँदै अध्यक्ष बस्नेतले भन्नुभयो ” सञ्चार माध्यमले विश्वसनीय र छिटो सम्प्रेषणका लागि रणनीति र प्याकेज ल्याउन सके कि सकेनन् त्यो पनि विचारणीय हुन्छ ।”

अध्यक्ष बालकृष्ण बस्नेतले युट्युबसहितका सामाजिक सञ्जाल न्यु मिडियाको व्यवस्थापनका लागि तत्काल कानुनी अड्चन हटाउनुपर्ने र त्यसका लागि काउन्सिल तयार रहेको स्पष्ट पार्नुभएको छ ।

‘अहिले नै कानुन ल्याउन सकिँदैन भने प्रेस काउन्सिलका केही दफा फेरौँ र व्यवस्थापन गरौँ, हामी त्यसका लागि सक्षम र तयार छौँ । यद्यपि राज्यले नीति बनाउन र कानुन ल्याउन ढिलाइ गर्नुहुँदैन ।’ उहाँले भन्नुभयो ।

बस्नेतले सञ्चार माध्यमका रूपमा सञ्चालन हुने जुनसुकै प्लेटफर्म र जुनसुकै माध्यमबाट पत्रकारिता कर्म गर्नेहरूको पहिलो नियामक निकाय काउन्सिल नै रहेको प्रस्ट्याउनु भयो ।

सञ्चारिका समूहका पूर्व अध्यक्ष एवम् वर्तमान सल्लाहकार निर्मला शर्माले विगतमा सञ्चार माध्यममा आफ्ना विषयवस्तु वा विचार समस्यासमेत राख्न स्थान नपाउने जोकोही अहिले आफैँ मिडिया सञ्चालक बन्ने वातावरण न्यु मिडियाले बनाएको बताउनुभयो । पत्रकार महिलाका लागि न्यु मिडिया अवसरको राम्रो माध्यम भएको उहाँको भनाइ थियो ।

शर्माले अहिलेको पत्रकारिताको चुनौती भनेकै सामाजिक सञ्जालबाट फैलिएको सूचनालाई आधिकारिक बनाउनु र छिटो सम्प्रेषण गर्नु रहेको बताउनुभयो ।

कार्यक्रममा अन्नपूर्णपोष्ट दैनिकका सम्पादक अखण्ड भण्डारीले परम्परागत माध्यमको पत्रकारितालाई नयाँ मिडियाले बाटो देखाउने र बचाउने काम गरेको दाबी गर्नुभयो  । भण्डारीले न्यु मिडियासँगै अगाडि बढ्न नसक्दा छापा पत्रकारितामा चुनौती देखिएको प्रस्ट पार्दै आफ्नो विषयवस्तु सम्प्रेषणका छापा माध्यमले न्यु मिडियालाई अवसरका रूपमा प्रयोग गर्न सक्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा सञ्चारिका समूहकी पूर्व अध्यक्ष नितु पण्डितले ‘न्यु मिडिया र पत्रकार महिला’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने कार्यपत्रमाथि पत्रकार दीपा रेग्मी र दुर्गा खनालले टिप्पणी गर्नुभएको थियो ।

प्यानल छलफलमा काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतसँगै पत्रकारहरू  अखण्ड भण्डारी,  बबिता बस्नेत, नारी मासिकका सम्पादक उपासना घिमिरे, नेपाल पत्रकार महासङ्घका पूर्व उपाध्यक्ष अनिता बिन्दु लगायतले अन्तर्क्रिया गर्नुभएको थियो।

सञ्चारिका समूहका अध्यक्ष विमला तुम्खेवाको अध्यक्षतामा भएको कार्यक्रममा काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालले स्वागत र वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालले धन्यवाद मन्तव्य राख्नुभएको थियो ।