नाइजेरियाको बोर्नोमा बम विस्फोट हुँदा १८ को मृत्यु, ४८ घाइते

नाइजेरिया । नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोमा भएको बम विस्फोटमा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ भने ४८ जना घाइते भएका छन् ।

घटनामा १८ जनाको मृत्यु भएको र ४८ जना घाइते भएका नाइजेरियाकोे आपतकालीन सेवालाई उद्धृत गर्दै सिएनएनले समाचारमा उल्लेख गरेको हो ।

स्थानीय राज्य आपतकालीन व्यवस्थापन निकाय सेमा का प्रमुखले सन्दिग्ध आत्मघाती आक्रमणकारीले विस्फोट गराएको बताउनुभयो ।

बोर्नो राज्य प्रहरी प्रवक्ता नाहुम केनेथ दासोका अनुसार ग्वोजामा भएको तिनवटा विस्फोटमध्ये एउटा पिठ्युँमा बच्चा बोकेकी एक महिलाले विवाह समारोहमा घरेलु विस्फोटक उपकरण आइईडी विस्फोट गराएकी हुन् ।

आत्मघाती आक्रमणकारीले सोही सहरको अस्पताललाई पनि निशाना बनाएका र विवाह समारोहमा भएको विस्फोटका पीडितहरूको अन्त्येष्टिमा फेरि अर्को आक्रमण गरेको डब्लुआईओएनले जानकारी गराएको छ ।

सेमाका महानिर्देशक बेकिन्डो साइदुले बालबालिका, वयस्क र गर्भवती महिलासहित १८ जनाको मृत्यु भएको पुष्टि गर्नुभएको छ ।

साइदुले गम्भीर घाइते भएका १९ जनालाई क्षेत्रीय राजधानी मैदुगुरी उपचारका लागि लगिएको छ ।

क्यामरूनको सीमापार रहेको नाइजेरियाली सहरमा एक दशकभन्दा बढी समयदेखि हिंसा हुँदै आएको छ । बोको हरामले सन् २०१४ मा ग्वोजालाई कब्जा गरेको थियो तर त्यसको एक वर्षपछि चाडेली सेनाको सहयोगमा नाइजेरियाली सेनाले यसलाई फिर्ता लिएको थियो ।