
काठमाण्डौ महानगरले कक्षा ११ का लागि छात्रवृत्ति आवेदन खुलायाे
काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहनेहरूका लागि अनलाइन आवेदन खुला गरेको छ ।
काठमाण्डाै महानगरपालिकाभित्र सञ्चालित कक्षा ११ अध्यापन हुने संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र २०८१/०८२ का लागि छात्रवृत्तिमा विद्यार्थी छनोट गर्न सञ्चालन हुने परीक्षामा अहिलेको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सफल भएकाहरूले आवेदन दिन पाउनेछन् । विद्यार्थीहरूले आजदेखि यही असारको २९ गते राति १२ बजेसम्म महानगरपालिकाको वेबसाइट वा https://entrance.kathmandu.gov.np/ मार्फत अनलाइन आवेदन फाराम पेश गर्न सक्ने महानगरको सूचनामा उल्लेख छ ।
प्रवेश परीक्षा आउँदो साउनको ४ गते हुनेछ । विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा र कानुन सबै विषयको पूर्णाङ्क एक सय र परीक्षा समयावधि दुई घण्टाको हुनेछ । उम्मेदवारले एउटाभन्दा बढी शैक्षिक विषयमा आवेदन फाराम पेश गर्न नपाउने सूचनामा उल्लेख छ ।
आवेदन दिन सामुदायिक विद्यालयमा अध्ययन गरेर एसईईमा न्यूनतम एक दशमलव छ जीपीए ल्याएको हुनुपर्नेछ । तर काठमाण्डाै महानगरपालिकाको स्थायी बासिन्दा, ल्यान्डफिल्ड साइट प्रभावित क्षेत्रका स्थायी बासिन्दा र पाँच प्रतिशत सिटको हकमा संस्थागत विद्यालयमा छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थीहरू पनि छात्रवृत्तीमा समावेश हुन पाउने काठमाण्डौ महानगरपालिकाले जनाएको छ ।