
सक्रिय शान्तिवादको नीति बनाएर भूराजनीतिक सन्तुलन मिलाउनुपर्छ : डा. बाबुराम भट्टराई
काठमाण्डौ । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालले भूराजनीतिक सन्तुलन मिलाउन आवश्यक रहेको बताउनुभएको छ ।
आज (काठमाण्डौ) मा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले यस्तो बताउनुभएको हो । उहाँले नेपाल ऐतिहासिक कारणले पछि परेको भएपनि जैविक, वातावरणीय रुपले पछाडि नपरेको र नेपाल समृद्ध बन्न पछिल्लो ज्ञान, विज्ञानमा आधारित वैज्ञानिक विचार प्रणालीलाई अपनाउनुपर्ने बताउनुभयो ।
पूर्वप्रधानमन्त्री भट्टराईले नेपालको बहुलजातीय, बहुभाषी सांस्कृतिक चरित्र नेपालको मौलिकता भएको बताउनुभयो । उहाँले आन्तरिक लोकतन्त्रलाई पनि बढी मजबुत बनाउन समावेशी र सहभागितामुलक लोकतन्त्रलाई अझ माथि पुर्याउने गरी काम गर्नुपर्ने जोड दिनुभयो ।
अध्यक्ष भट्टराईले सक्रिय शान्तिवादको नीति बनाएर भारत र चीनसँगका समस्या समाधान गर्नुपर्ने बताउनुभयो । नेपालले रक्षात्मक तयारी गर्ने तर युद्ध नगर्ने रणनीति अपनाउनुपर्ने बताउनुभयो ।