गुल्मी, बागलुङ र स्याङजामा पहिरोमा परी ९ जनाको ज्यान गयो, दुई जना घाइते

काठमाण्डौ । गुल्मी, बागलुङ र स्याङजामा पहिरोमा परी नौ जनाको ज्यान गएको छ । गुल्मीमा पाँच, बागलुङ र स्याङजामा दुईरदुई जनाको ज्यान गएको हो । गुल्मीमा एकै परिवारका पाँच जना पहिरोमा पुरिएकोमा सबैको शव भेटिएको छ ।

मालिका गाउँपालिका वडा नम्बर–६ अर्जेको कँडेलपाटामा भेषबहादुर विकको घर पहिरोले पुर्दा ५६ का भेषबहादुरसहित उहाँकी श्रीमती ४७ वर्षीया सुन्तली बिक, बुहारी ३० वर्षीया सिता बिक, नातीनीहरु सात वर्षिया सपना विक र दुई वर्षीया विपना बिकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक राजन भुजेलले जानकारी दिनुभयो ।

यस्तै बागलुङमा पहिरोले घर पुरिँदा दुई जनाको ज्यान गएको छ । गलकोट नगरपालिका–८ काँडेबाँस बिसौनीका ५५ वर्षीय प्रेम विक र उहाँकी श्रीमती ५० वर्षीया वसन्ती विकको ज्यान गएको हो । पहिरोले घर पुरिँदा प्रेमकी बुहारी कुमारी र नाति शिशिर घाइते भएका जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिनुभयो । घाइतेलाई उद्वार गरी अस्पताल पठाइएको छ ।

यस्तै स्याङ्जामा पहिरोमा परेर आमाछोरीको ज्यान गएको छ । फेदीखोला गाउँपालिका–५ बाँगेमा गएराती पहिरोले घर पुर्दा सुतिरहेका ३१ बर्षीय दुर्गा जि।टी। र उहाँकी तीन बर्षकी छोरी निकिसा जि।टी।को ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिनुभयो । जिटीको ढुङगा माटो र टिनले छाएको एक तले घर र गोठ पुरेको हो । घरमाथिबाट आएको पहिरोले घर तथा गोठ पूर्ण रुपमा क्षति भएको प्रवक्ता रानाले बताउनुभयो ।

यसैबीच दाङमा चट्याङले लागेर एक महिलाको ज्यान गएको छ । राजपुर गाउँपालिका– २ मटेरीया की ३९ वर्षीया भुमिसरा बुढामगरको चट्याङ लागेर ज्यान गएको ईलाका प्रहरी कार्यालय गढवाले जनाएको छ । हिजो बेलुका आफ्नै खेतमा काम गरिरहेको अवस्थामा चट्याङ लागेर घाइते भुमिसरालाई उपचारका लागि लमही अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेका थिए । रासस