
मदन भण्डारी कलेज देशकै नमूना कलेज : सभामुख घिमिरे
काठमाण्डौ । सभामुख देवराज घिमिरेले मदन भण्डारी मेमोरियल कलेज नेपालको शैक्षिक जगतमा एक नमूना कलेज भएको बताउनुभएको छ ।
आज (शुक्रबार) विनायकनगर, काठमाण्डौस्थित कलेजको २३औँ वार्षिकोत्सवको उद्घाटन समारोहमा बोल्दै सभामुख घिमिरेले नेपालको शैक्षिक जगतमा समय सापेक्ष शिक्षा प्रदान गरेर उत्कृष्टता हाँसिल गरेको बताउनुभयो । उहाँले सबैका लागि सर्वसुलभ र पहुँचयोग्य शिक्षामा जोड दिएकाले मदन भण्डारी मेमोरियल कलेज नमूना कलेज बनेकोे धारणा राख्नुभयो ।
त्यस्तै, मदन भण्डारी मेमोरियल कलेजलाई विश्वविद्यालय बनाउने योजनामा आफू सधैँ संवेदनशील रहेको उहाँले बताउनुभयो । शिक्षालाई व्यावहारिक बनाउने नीति ल्याउन पनि उहाँले सकारात्मक सहयोग जारी राख्ने बताउनुभएको छ ।
सभामुख घिमिरेले जननेता मदन भण्डारी जस्तो द्वन्द्वात्मक भौतिकवादी चेत भएका नेतालाई भावी पुस्ताले अनुसरण गर्नुपर्ने सुनाउनुभयो ।
उहाँले जननेता भण्डारीका विचारलाई बुझाउने र बुझ्ने दक्ष जनशक्ति निर्माण गर्न आवश्यक रहेकामा जोड दिनुभयो । समाजप्रतिको सकारात्मक धारणा र देशप्रमले गर्दा नै उहाँ विश्वले चिन्ने प्रिय नेता भएको सभामुख घिमिरेले बताउनुभयो ।
कलेज प्रमुख डा.बाबुराम अधिकारीले शिक्षामा नियमित एवम् गुणस्तरीय सुधार ल्याउन हरसम्भव प्रयास भइरहेको बताउनुभयो ।
शिक्षकलगायत हरेक कर्मचारीहरुको लगनशीलताका कारण कलेज २३ वर्षमा प्रवेश गरेको र त्यसैकारण देशका पाँच उत्कृष्ट कलेजमा मदन भण्डारी मेमोरियल कलेज पर्न सफल भएको उहाँले जिकिर गर्नुभयो ।
कार्यक्रममा विद्यार्थीहरुद्वारा विभिन्न सांस्कृतिक झाँकी, संगीत र कला प्रर्दशनी गरिएको थियो । कलेजले वर्ष विद्यार्थी, परिक्षामा उत्कृष्ट नतिजा हाँसिल गरेका विभिन्न संकायका विद्यार्थी, ट्यालेन्ट हन्ट, स्पोर्टस् डेलगायत पेन्टिङ प्रतियोगीताका विजेताहरुलाई मेडल तथा सर्टिफिकेट प्रदान गर्यो । सोही अवसरमा कलेजले ट्रान्सफर्मेसन इ–बुलेटिन र स्काउट कार्यक्रमको सुभारम्भ भएको जानकारी गराएको छ ।