
मदन भण्डारी मेमोरियल कलेजद्वारा जेष्ठ नागरिकहरुलाई कपडा तथा फलफूल वितरण
काठमाण्डौ । मदन भण्डारी मेमोरियल कलेजले २३औँ वार्षिकोत्सवको अवसर पारेर साताव्यापी कार्यक्रमअन्तर्गत पाँचौ दिन जेष्ठ नागरिकहरुलाई कपडा तथा फलफूल वितरण गरेको छ ।
आज (बिहीबार) विनायकनगर काठमाण्डौस्थित कलेज परिसररमै सो कार्यक्रमको आयोजना गरिएको हो ।
७० वर्षदेखि माथि उमेर समूहका ३५ जनाभन्दा बढि निम्न आय भएका एवम् अव्यवस्थित जेष्ठ नागरिकहरुलाई कलेज प्रमुख डा. बाबुराम अधिकारीले कपडा तथा फलफूुल वितरण गरेर सम्मान गर्नुभयो । “जेष्ठ नागरिकहरु राष्ट्रको सम्पदा भएकाले उहाँहरुबाट ज्ञान, सीप र अनुभव आदानप्रदान गर्नु सबैको दायित्व होे ।” उहाँले भन्नुभयो, “त्यसो गर्न नसकिए महत्वपूर्ण शिक्षा विलुप्त हुनेछ ।”
डा. अधिकारीकाअनुसार जीवनमा हरेक व्यक्तिले अवोध बालबालिका र जेष्ठ नागरिकबाट धेरै कुराहरु सिक्न पाउँछ । त्यसैले जेष्ठ नागरिकसँग कलेजमा भेटघाट गर्न पाउनु आफ्नो लागि अनि कलेज परिवारकै लागि पनि हर्षको विषय रहेको उहाँको भनाइ थियो । उहाँहरुको पीडा बाड्नकानिम्ति कलेजले थोरै भएपनि सहयोग गर्न चाहेको र आउँदा दिनमा पनिे यस्ता शुभ कार्यलाई निरन्तरता दिने उहाँले प्रतिज्ञा लिनुभयो ।
यसैबीच कार्यक्रममा समुदाय आसपास र विभिन्न सुकुम्बासी वस्तीका जेष्ठ नागरिकहरु ल्याउन सहजकर्ताको भूमिका खेल्नुभएका नेपाल बसोबास वस्ती संरक्षण समाजको संस्थापक अध्यक्ष एवम् नेपाल जनता संरक्षण पार्टीका अध्यक्ष हुकुम बहादुर लामाले कलेजले गरेको सुकार्यप्रति खुसी व्यक्त गर्नुभयो । समाज र वृद्धवृद्धाहरुप्रति कलेजले देखाएको सम्मान साँच्चै नै सकारात्मक रहेको उहाँले बताउनुभयो ।
मदन भण्डारी मेमोरियल कलेजले असार १४ गते शुक्रबार आफ्नो २३ औँ वार्षिकोत्सव मनाउँदैछ ।