सरकारले राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव चितवनमा मनाउने

काठमाण्डौ । अहिलेसम्म देशको रोपाइँ हुने क्षेत्रको झन्डै १० प्रतिशतमा मात्रै रोपाइँ भएको छ । असार १२ गतेसम्ममा कुल क्षेत्रफलको ९ दशमलव ८ प्रतिशतमा मात्रै रोपाइँ भएको कृषि विभागले जनाएको छ ।

यो वर्ष १३ लाख ९८ हजार आठ सय ३६ क्षेत्रफलमा धान रोपाइँ हुने अनुमान रहेकोमा अहिलेसम्म १ लाख ३६ हजार ४ सय ११ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको हो । अघिल्लो वर्षको असार १० गतेसम्ममा ८ दशमलव ७५ प्रतिशत रोपाइँ भएको थियो ।

धानको बालीे ठूलो ’ब्लक’ रहेको र मेशिनरी प्रयोग धेरै भएकोले चितवनमा मनाइने निर्णय गरिएको उहाँले बताउनुभयो।
यसैले सरकारले यो वर्ष राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव चितवनमा मनाउने भएको छ । यसअघि ललितपुरको खुमलटारमा रहेको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को परिसरमा मनाउँदै आएको महोत्सव यो वर्ष चितवनको बछौलीमा विशेष कार्यक्रम गरी धान दिवस मनाउन लागेको कृषि मन्त्रालयका सह–सचिव डा. रामकृष्ण श्रेष्ठले जानकारी दिनुभयो।

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी हुनुहुनेछ । यस्तै नार्कले पनि आफ्नो परिसरमा धान दिवस मनाउँदैछ । यसैगरी राष्ट्रिय किसान आयोगले पनि काभ्रेमा कार्यक्रम गरी धान दिवस मनाउने भएको छ । धान खेती हुने जिल्लास्तरमै पनि विभिन्न कार्यक्रमहरु आयोजना हुनेछन् ।

नेपाल सरकारले यस वर्ष जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ नाराका साथ २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव असार १५ गते अर्थात् पर्सि शनिवार मनाउँदैछ ।