
मदन भण्डारी कलेजद्वारा आयोजित रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
काठमाण्डौ । मदन भण्डारी मेमोरियल कलेजले २३औँ वार्षिकोत्सवको अवसर पारेर लायन्स कल्ब अफ काठमाण्डौसँगको सहकार्यमा निःशुल्क रक्तदान, दन्त परिक्षण, आँखा परिक्षणलगायतका अन्य स्वास्थ्य शिविरका कार्यक्रमको सफलतापूर्वक आयोजना गरेको छ ।
कलेजअन्तर्गतको सामाजिक कल्याण उपसमितिको संयोजनमा आज (बुधबार) कलेज परिसरमा ती कार्यक्रमहरु आयोजना गरिएको हो ।
समुदायको आवश्यकतालाई मध्यनजर गर्दै उनीहरुको आवश्यक स्वास्थ्य सुविधा तथा आफ्नो संस्थागत उत्तरदायित्व अन्तर्गत यी कार्यक्रमहरु आयोजना गरिएको कलेज प्रमुख डा. बाबुराम अधिकारीले बताउनुभयो । कलेजको वार्षिक क्यालेन्डरमै पनि यस्ता विविध गतिविधीहरु समावेश गरिएको हुनाले २३औँ वार्षिकोत्सव कार्यक्रम भव्यताकासाथ मनाइरहेको उहाँको भनाइ छ ।
सामाजिक कल्याण उपसमितिका संयोजक सुजित मैनालीका अनुसार आज रक्तदान, आँखा परिक्षण, दन्त परिक्षण, मधुमेह परिक्षण, सुगर र मृगौला परिक्षण लगायतका कार्यक्रमहरु सञ्चालन गरिएको हो ।
मदन भण्डारी मेमोरियल कलेज, समाजशास्त्र विभाग प्रमुख समेत रहनु भएका मैनालीका अनुसार शिविरमा २५९ जनाले आँखा परिक्षण, १६१ जनाले दन्त परिक्षण, १७९ जनाले मधुमेह परिक्षण र १५७ जनाले मृगौला परिक्षण गराएका छन् ।
विद्यार्थी, शिक्षक, कलेजका अन्य सदस्य, अभिभावक तथा जनसमुदायका विभिन्न व्यक्तिहरुले भौतिकरुपमै उपस्थिती जनाएर शल्यक्रियाकालागि परामर्श, सल्लाह र अन्य जाँच सेवाहरु लिएका छन् । शिविरमा समुदायस्तरबाट उलेख्य सहभागीता रहेको उहाँले बताउनु भयो ।
त्यस्तै, रेडक्रससँगको सहकार्यमा आयोजित रक्तदान कार्यक्रमबाट ६२ पिन्ट रगत संकलन भएकोे संयोजक मैनालीले जानकारी दिनुभयो । कलेजका शिक्षक, विद्यार्थी र कर्मचारीले रक्तदान गरेका थिए ।
सहायक क्याम्पस प्रमुख कमल न्यौपानेले कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेकोमा रेडक्रसका प्रतिनिधीलाई धन्यवाद ज्ञापन समेत गर्नुभयो ।
मदन भण्डारी मेमोरियल कलेजले असार ९ गते देखि असार १४ गतेसम्म २३औँ वार्षिकोत्सवको अवसरमा साताव्यापी विभिन्न कार्यक्रमहरू मनाइरहेको छ । सोहीअन्तरगत असार १३ गते (बिहीबार) पशुपतिनाथस्थित जेष्ठ नागरिक गृहका जेष्ठ नागरिकहरुलाई कपडा तथा फलफूल वितरण गर्ने कार्यक्रम रहेको छ ।
विहीबारनै त्रीदिवसीय अन्तरक्रियात्मक संवाद अन्तरगत ‘करिक्यूला एण्ड करेन्ट नलेड्जः ब्रिजिङ द ग्याप विषयक’ कार्यक्रमको रेडियो श्वेत शार्दूलको स्टुडियोमा सञ्चालन हुने कलेज प्रमुख डाक्टर बाबुराम अधिकारीले जानकारी दिनुभयो ।