संसदीय गतिविधिलाई वेबसाइटमा राख्न सांसद बर्तौलाको माग

काठमाण्डौ। नेकपा एमाले का प्रमुख सचेतक एवम् सांसद महेश बर्तौलाले २०१५ सालदेखिका संसदीय गतिविधिलाई सर्वसाधारणले सजिलै भेट्ने गरी वेबसाइटमा राख्न माग गर्नुभएको छ । मङ्गलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै सांसद बर्तौलाले यस्तो माग गर्नुभएको हो ।

उहाँले नेपालको संसदीय अभ्यास २०१५ बाट सुरु भए पनि त्यो बेलादेखिका संसदीय गतिविधि अभिलेख आन्तरिक रुपमा भए पनि सर्वसाधारणको पहुँचमा नआएको बताउनुभयो । उहाँले अहिलेसम्म हेर्दा विभिन्न खालका संसद्का अभिलेखहरूलाई व्यवस्थित रूपमा सर्वसाधारणले सजिलै पाउन नसकेको बताउनुभयो ।

सांसद बर्तौलाले संसद्का समग्र गतिविधिहरूलाई वेबसाइटमार्फत सजिलै हेर्नसक्ने गरी वेबसाइटमा ल्याउन माग गर्नुभयो । उहाँले २००८ देखिएका राजपत्र, २०१३ सालदेखि पत्रिका र देशभर फौजदारी मुद्दा कस्तो छ भनेर खोज्दा सर्वोच्चको साइटमा भेट्न सकिने तर संसद्को समग्र गतिविधिलाई व्यवस्थित ढङ्गमार्फत राखिएको नभेटिने अवस्थाको अन्त्य गर्नुपर्ने बताउनुभयो ।

उहाँले संसदीय गतिविधिलाई ऐतिहासिक सम्पत्तिको रूपमा सर्वसाधारणले सजिलै पाउने गरी व्यवस्थित गर्न आवश्यक रहेको बताउनुभयो ।