मनसुन सक्रिय भएसँगै मेलम्ची खानेपानी काठमाण्डौमा पठाउन बन्द

काठमाण्डौ । मेलम्ची खानेपानी काठमाण्डौमा पठाउन बन्द गरिएको छ । मनसुन सक्रिय भएसँगै पानी पर्न थालेको र मेलम्चीमा बाढीसमेत आएकाले पानीको पथान्तरण बन्द गरिएको आयोजनाले जनाएको छ ।

वर्षासँगै बाढीले पु¥याउनसक्ने क्षति कम गर्न पानी पथान्तरण बन्द गरिएको हो । सिन्धुपाल्चोकको अम्बाथानमा रहेको मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वारलाई बन्द गरिएको छ । पानी पनि धमिलो हुन थालेको छ । आयोजनासम्म जाने पुल बगाएपछि आयोजनालाई सुरक्षित गर्न हिजोदेखि पानीको आपूर्ति बन्द गरिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी दिनुभयो ।

यसअघि असार लागेसँगै आपूर्ति बन्द गर्ने भनिए पनि ठूलो पानी नपरेका कारण त्यति बेला बन्द गरिएको थिएन । लामिछानेका अनुसार परामर्शदाता तथा एशियाली विकास बैंक (एडीबी) ले मनसुनी जोखिमबाट आयोजनालाई जोगाउन मेलम्ची बन्द गर्न सुझाव दिएका थिए ।

मनसुनजन्य विपत्तिबाट मेलम्ची खानेपानी आयोजनाको ’हेडवर्क्स’ मा हुनसक्ने सम्भावित क्षति न्यूनीकरणका लागि सरकारले वर्षा शुरु भएसँगै आयोजना बन्द गर्ने र वर्षा सकिएपछि सञ्चालन गर्दै आएको छ ।